२२ चैत,काठमाडौं । खर्च कटौती गर्ने उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकैदिन आयोजना गर्ने सरकारी प्रस्ताव माल्दिभ्सका मतदाताले अस्वीकृत गरेका छन्। हिजो सम्पन्न जनमत सङ्ग्रहको आधिकारिक नतिजाअनुसार ६८.७७ प्रतिशत मतदाताले प्रस्तावको विरोधमा मतदान गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
निर्वाचन आयोगका अनुसार करिब २ लाख ९४ हजार मतदाता रहेका माल्दिभ्समा झन्डै दुई तिहाइ मतदाताले मतदानमा सहभागिता जनाएका थिए।
त्यही दिन सम्पन्न स्थानीय परिषद् चुनावमा पनि सत्तारूढ पार्टीका लागि निराशाजनक नतिजा आएको छ। राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेशनल कङ्ग्रेस अपेक्षित सफलता हासिल गर्न सकेन भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले राजधानी माले र दोस्रो ठूलो क्षेत्र अड्डुको प्रमुख परिषद्मा विजय प्राप्त गरेको छ।
राष्ट्रपति मुइज्जुले सामाजिक सञ्जाल एक्समार्फत परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै विजेताहरूलाई बधाई दिएका छन्। उनले बताए अनुसार, देश आर्थिक चुनौतीमा हुँदा खर्च घटाउने उपायका रूपमा दुवै राष्ट्रिय चुनाव एकैपटक गर्ने प्रस्ताव अघि सारिएको थियो, जसबाट करिब ८० लाख अमेरिकी डलर बचत हुने अनुमान गरिएको थियो।
प्रस्ताव अनुसार वर्तमान संसद्को कार्यकाल करिब पाँच महिना घटाएर सन् २०२८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनावसँग मिलाउने योजना थियो। तर मतदाताले यसलाई समर्थन नगरेपछि योजना कार्यान्वयनमा नआउने भएको छ।
यसअघि सरकारले सन् २०२४ मा अन्तर्राष्ट्रिय मुद्राकोषको बेलआउट अस्वीकार गर्दै आन्तरिक खर्च कटौती नीति अघि सारेको थियो। त्यसक्रममा राष्ट्रपतिको तलब आधा गर्ने निर्णयसमेत गरिएको थियो। माल्दिभ्सको करिब ३ लाख ८२ हजार जनसंख्याले देशको आर्थिक समस्या अस्थायी भएको र बाह्य सहायता नलिने अडान दोहोर्याउँदै आएको छ।


















