२४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै २४ घण्टाभित्र सम्झौता नभए ुइरानलाई पूर्ण रूपमा समाप्त पार्नेु निकै गम्भीर र विवादास्पद धम्की दिनुभएको छ ।
मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले इरानलाई दिइएको समयसीमा (भोलिसम्म) भित्र सहमति नभए सैन्य कारबाहीमार्फत इरानको अस्तित्व नै संकटमा पार्न सक्ने चेतावनी दिनुभएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले इरानका सबै भौतिक पूर्वाधार, पुलहरू र ऊर्जा संरचनाहरू ध्वस्त पार्ने तयारी रहेको स्पष्ट पार्नुभएको छ । उहाँले अमेरिका कुनै पनि सैन्य विकल्प प्रयोग गर्न तयार रहेको र इरानले तत्काल सम्झौता नगरे त्यसको परिणाम ‘अत्यन्तै गम्भीर र विध्वंशकारी’ हुने उल्लेख गर्नुभयो । ट्रम्पको यो अभिव्यक्तिले मध्यपूर्वमा मात्र नभई विश्व राजनीतिमा नै नयाँ तरंग र युद्धको आशंका पैदा गरिदिएको छ ।
इरानलाई लक्षित गर्दै दिइएको यो कडा चेतावनी र समयसीमाले दुई देशबीचको तनावलाई उत्कर्षमा पुर्याएको छ। ट्रम्पले इरानको आर्थिक र सैन्य मेरुदण्ड मानिने ऊर्जा संरचनाहरूलाई मुख्य निसानामा राख्नुभएको छ ।
यद्यपि, अमेरिकी राष्ट्रपतिको यो पछिल्लो र आक्रामक चेतावनीका बारेमा इरानले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । यो अल्टिमेटमपछि विश्व समुदायले सम्भावित युद्ध टार्न कस्तो पहल गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।


















