२४ चैत, माडी चितवन । चितवनको माडी नगरपालिकाभित्र रहेका सबै स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईहरूमा प्रारम्भिक आँखा परीक्षण सेवा सुरु गरिने भएको छ। नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आवश्यक तालिम तथा स्मार्टफोन उपकरण उपलब्ध गराइएपछि हनुमानझुलादेखि बरुवासम्मका सार्वजनिक स्वास्थ्य संस्थाहरूमा एकैपटक सेवा विस्तार हुन लागेको हो।
यस सेवासँगै अब माडीवासीले आफ्नै नजिकको स्वास्थ्य संस्थामै आँखा जाँच गराउन सक्नेछन्। प्रारम्भिक परीक्षणपछि आवश्यक देखिएमा बिरामीलाई माडी आँखा उपचार केन्द्रमा सिफारिस (रेफर) गरिनेछ। रेफर भएर जाने बिरामीलाई टिकट शुल्क नलाग्ने व्यवस्था गरिएको छ भने विभिन्न प्रकारका आँखा शल्यक्रियामा एक हजार रुपैयाँसम्म छुट प्रदान गरिने जनाइएको छ।
माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले स्थानीय तहमा आँखा स्वास्थ्य सेवा विस्तार हुनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै अब सामान्य समस्या देखिँदासाथ नजिकै सेवा पाउने भएकाले समयमै रोग पहिचान र उपचारमा ठूलो सहयोग पुग्ने बताउनुभयो। उहाँले बागमती प्रदेशभित्र सबै वडामा आँखा उपचार सेवा पुर्याउने पहिलो नगरपालिका माडी बनेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिम समापन कार्यक्रममा भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले माडीका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि थप आँखा स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय स्तरमै सेवा विस्तार भएसँगै माडीवासीलाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ भने आँखासम्बन्धी समस्याको पहिचान र उपचारमा सकारात्मक सुधार आउने विश्वास गरिएको छ।




















