Logo

२५ चैत, चितवन । भरतपुर–२७ दद्रेनीको एकान्त बस्तीमा एउटा सानो घर छ, जहाँ ६९ वर्षीय यमनारायण अधिकारी एक्लै बस्छन्। उमेरले नेटो काटिसकेको, शरीरको एक भागले राम्ररी साथ नदिने यी असहाय वृद्धका लागि यो घर अहिले ओत लाग्ने ठाउँ होइन, त्रासको एउटा टापु बनेको छ।

दुई महिनादेखि उनी आफ्नै घरभित्र थुरिएर बस्न बाध्य छन्, किनकि बाहिर जग्गा दलालहरूको गिद्धे नजर छ र उनीहरूलाई नै संरक्षण दिने प्रहरीको कठोर आड छ। आफ्नो र परिवारको गर्जो टार्नका लागि पुर्ख्यौली जग्गा आफ्नै नातेदार (भान्जी ज्वाइँ) मार्फत बिक्री गरेका यमनारायणको अपराध यति मात्रै भयो कि उनले बिचौलियालाई सित्तैमा बुझाउनका लागि लाखौको कमिसन रकम दिन इन्कार गरे।

घरमा हेरचाह गर्ने कोही छैन, एकान्त ठाउँमा घर छ, त्यही मौका छोपेर दलालहरूले उनलाई कहिले फोनमा त कहिले घरमै पुगेर अपहरण गर्ने र सिध्याउने धम्की दिइरहेका छन्। म त एक्लो मान्छे, कतिबेला कसले आएर घाँटी निमोठ्ने हो भन्ने डरले रातभर आँखा झिमिक्क पार्न सक्दिनँ, यमनारायणले रुँदै आफ्नो अवस्था सुनाए।

वृद्धको यो छटपटी र आँसु पुछ्नुपर्ने ठाउँ जिल्ला प्रहरी कार्यालय चितवन थियो। तर, जब उनी न्यायको याचना गर्दै प्रहरीको ढोका पुगे, त्यहाँको दृश्य अझै भयानक देखियो। प्रहरी प्रमुखकै कार्यकक्षमा उनलाई अपराधी जस्तै उभ्याइयो र जग्गा दलालहरूको पक्षमा पञ्चायती बस्यो।

जग्गा खरिदकर्ताले, मैले यी दलालहरूलाई चिन्दिनँ, जग्गाधनीको नातेदारमार्फत किनेको हु भन्दाभन्दै पनि प्रहरीले उल्टै ती वृद्धलाई दलाललाई पैसा बुझाउन दबाब दियो। न्यायको रक्षक भनिएको प्रहरीले नै अवैधानिक कमिसनको वकालत गरेपछि यमनारायणलाई लाग्न थालेको छ— सरकार फेरिएर मात्र केही भएन, यो देशमा न्याय केवल पहुँचवाला र दलालहरूका लागि मात्र रहेछ।

अपाङ्गता भएका र एक्लो अवस्थाका ज्येष्ठ नागरिकको सुरक्षामा राज्य कति उदासिन छ भन्ने यो घटनाले पुष्टि गर्छ। सरकारले एकातिर देशभरिका मालपोतबाट वैधानिक लेखापढी व्यवसायीलाई बिचौलिया भनेर पक्राउ गरिरहेको छ, तर चितवनमा भने जग्गा माफियाहरूले एउटा वृद्धको सम्पत्ति लुट्न खोज्दा प्रहरी प्रशासन नै उनीहरूको सारथि बनेको छ।

मुलुकी अपराध संहिताले कसैलाई डर–त्रास देखाएर रकम असुल्नुलाई गम्भीर अपराध मानेको छ, तर चितवन प्रहरीले भने कानुनको धज्जी उडाउँदै दलालहरूको एजेन्ट झैँ काम गरिरहेको छ।

आज यमनारायण अधिकारीको आँखाको आँसुले राज्यको सुशासनलाई गिज्याइरहेको छ। जग्गा बेचेर बाँकी जीवन शान्तिसँग बिताउने उनको सपना अहिले दुःस्वप्नमा बदलिएको छ। एकातिर घरैमा आएर धम्काउने दलाल र अर्कोतिर प्रहरी कार्यालयभित्रैबाट आउने मानसिक यातनाले उनलाई पल–पल मारिरहेको छ।

के यो देशमा एक्लो र निमुखा नागरिकले आफ्नो सम्पत्तिमाथि अधिकार राख्न पाउँदैनन् ? के प्रहरी प्रशासन केवल जग्गा माफियाको कमिसन उठाउने संयन्त्र मात्रै हो ? यी प्रश्नहरूको जवाफ यमनारायणले मात्र होइन, अब सिङ्गो चितवनबासीले खोजिरहेका छन्।

प्रहरीले दलाललाई पक्राउ गर्ला भनेको त उल्टै मलाई नै थर्काएर कमिसन देऊ भन्छ, यमनारायणले भने। दुई महिनादेखि उनी राम्रोसँग सुत्न सकेका छैनन्। प्रहरी कार्यालयमा सई दवाडी र एसपी पुरीको व्यवहारले उनलाई न्याय मरेको महसुस गराएको छ।

विचौलियाको सूचना केन्द्र बन्दै मालपोत र प्रहरी

चितवनमा अहिले जग्गा दलालको बिगबिगी कति छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। मालपोत कार्यालयका कर्मचारीले दैनिक रूपमा कुन जग्गा कसले किन्यो भन्ने गोप्य विवरण दलालहरूलाई उपलब्ध गराउँछन्। त्यही विवरणका आधारमा दलालहरू जग्गाधनीको घर पुग्छन् र प्रहरी प्रशासनको आडमा रकम असुल्छन्।

सरकारले एकातिर देशभरिका मालपोतबाट इजाजतप्राप्त लेखापढी व्यवसायीलाई बिचौलिया भनेर पक्राउ गरिरहेको छ, तर अर्कोतिर चितवनमा प्रहरी प्रमुखकै कार्यकक्षमा बिना इजाजतका दलालहरूले एक वृद्धको घाँटी निमोठ्न खोज्दा प्रहरी टुलुटुलु हेरेर मात्र बसेन, उल्टै दलालको वकालत गर्‍यो।

अभिमन्यू भन्छन्, मैले नै केटा परिचालन गरेको हुँ

जग्गा कारोबारमा बिचौलियाको भूमिकामा देखिएका अभिमन्यु अधिकारीले आफूले नै यमनारायणको जग्गा बिक्री गराउन केटाहरू परिचालन गरेको खुल्ला रूपमा स्वीकार गरेका छन्। उनले जग्गा बिक्री भएपछि यमनारायणले कमिसन नदिएकै कारण प्रहरीमा उजुरी हालेको बताए।

विशाल रायमाझीले उजुरी दिएका हुन्, प्रहरीसँगको छलफलमा म पनि सहभागी थिएँ, अभिमन्युले भने, “त्यहाँ जग्गा खरिदकर्ता रामचन्द्र लामिछानेलाई झिकाएर विशालले जग्गा देखाएको हो कि होइन भनी यकिन गर्ने र लामिछानेले स्वीकार गरेमा यमनारायणले चलनचल्तीको कमिसन दिनुपर्ने सहमति भएको छ ।” उनले त झन् प्रहरीसँगको सहमति पछि नै सई सन्दीप दवाडीले खरिदकर्तालाई फोन गरेको दाबी समेत गरे।

खरिदकर्ता भन्छन्, मलाई पनि प्रहरीले तर्सायो

यता जग्गा खरिदकर्ता रामचन्द्र लामिछानेले भने दलालहरूको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले आफू विशाल रायमाझीमार्फत नभई जग्गाधनीका आफ्नै भान्जी ज्वाइँमार्फत घरमै पुगेर जग्गा किनेको प्रस्ट पारेका छन्।

उनीहरूले धेरै जग्गा देखाएका थिए तर महँगो भएर किनिनँ, यो जग्गा त नाता पर्ने मान्छेमार्फत किनेको हुँ, लामिछानेले भने। उल्टै आफूलाई समेत जिल्ला प्रहरी कार्यालयबाट तपाईं विरुद्ध उजुरी छ, भन्दै फोन गरेर तर्साउने काम भएको उनले दुखेसो पोखे।

उनले थपे, “प्रहरी कार्यालयबाट सई साबले फोन गरेर आउन भन्नुभयो, तर मैले कुनै अपराध नगरेकाले आउँदिनँ भनिदिएँ।”

प्रहरी प्रमुख पुरीको दाबी, जबरजस्ती गरे दलाललाई पक्रेर थुन्छु

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) गोविन्द पुरीले भने प्रहरी कार्यालय बिचौलियाको अखडा बनेको कुरालाई अस्वीकार गर्दै आफूले लेनदेनको विषय बुझ्न मात्र दुवै पक्षलाई झिकाएको बताए।

जग्गाधनीले आफन्त मार्फत जग्गा बिक्री गरेको भनेपछि कमिसनको रकम नमाग्नु भनेर निवेदक (विशाल रायमाझी) लाई सम्झाएर पठाएको छु, एसपी पुरीले भने। उनले अगाडि थपे, “यदि फेरि पनि ती वृद्धलाई जवर्जस्ती गरे वा दुःख दिएमा बिचौलियाको रूपमा काम गर्नेहरूलाई पक्राउ गरेर कारबाही गर्छु।”

प्रहरी प्रमुखले सम्झाएको दाबी गरे पनि यमनारायणको घरमा आउने धम्की र प्रहरीबाट खरिदकर्तालाई जाने फोनले अझै पनि दलाल र प्रहरीबीचको मिलेमतो रहेको आशङ्का उब्जाएको छ।

घरमा हेरचाह गर्ने कोही नभएको र एकान्त ठाउँमा बस्ने ती वृद्धलाई कतिबेला के हुने हो भन्ने त्रासले पल९पल मारिरहेको छ। सरकारले देशभरिका मालपोतबाट वैधानिक लेखापढी व्यवसायीलाई बिचौलिया भनेर लखेटिरहँदा, चितवनको प्रहरी कार्यालयभित्रै बिचौलियाको पक्षमा हुने यस्तो पञ्चायतीले कानुनी राज्यको उपहास गरेको छ।

कानुनी अवस्थास् के भन्छ कानुन ?

जग्गा कारोबारमा कमिसन वा दलाली दस्तुर लिने दिने विषयमा नेपालको कानुनले स्पष्ट व्यवस्था गरेको छैन। घरजग्गा एजेन्टको रूपमा काम गर्न इजाजत लिनुपर्ने प्रावधान भए पनि हालसम्म यसको ठोस कार्यान्वयन छैन।

यदी कसैलाई डर, त्रास देखाई रकम माग्नु मुलुकी अपराध संहिता, २०७४ अनुसार गम्भीर फौजदारी अपराध हो। वृद्ध व्यक्तिलाई मानसिक तनाव दिनु र घरमै पुगेर धम्क्याउनु विरुद्ध प्रहरीले दलालहरूलाई पक्राउ गर्नुपर्नेमा उल्टै उनीहरूको लेनदेन मिलाउन खोज्नु प्रहरीको बदनियत देखिन्छ।

देवानी प्रकृतिको लेनदेन (त्यो पनि अवैध दलाली रकम) मिलाउने अधिकार प्रहरीलाई छैन। यस्ता विषयमा प्रहरीले हस्तक्षेप गर्नु नै गैरकानुनी हो।


सम्बन्धित समाचार
भर्खरै