२६ चैत, काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको दुखद मृत्यु भएको छ । बुधबार प्रान्तीय अधिकारीहरूले दिएको जानकारीअनुसार मङ्गलबार राति सेरजाद जिल्लामा रहेको माटोको घरको छत एक्कासि भत्किँदा उक्त हताहती भएको हो ।
सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरिसी बद्लोनका अनुसार दुर्घटनामा परेका सातै जनाको घटनास्थलमै ज्यान गएको थियो । अफगानिस्तानका दुर्गम र ग्रामीण क्षेत्रहरूमा रहेका घरहरू मुख्यतया माटो र काँचो इँटाबाट निर्माण गरिने भएकाले वर्षा र प्राकृतिक प्रकोपका समयमा यस्ता संरचनाहरू जोखिमपूर्ण हुने गरेका छन् ।
पछिल्लो समय अफगानिस्तानमा प्राकृतिक विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । यसअघि सोमबार राति पनि भारी वर्षाका कारण माटोको इँटाले बनेको घरको छत खस्दा पाँच जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
सरकारी तथ्याङ्कअनुसार बितेका १२ दिनमा मात्रै देशका विभिन्न भागमा आएको भारी वर्षा, पहिरो, आँधीबेहरी र चट्याङका कारण कम्तीमा १३२ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा १९२ जनाभन्दा बढी घाइते भएको बताइएको छ । विपद्का कारण हजारौँको सङ्ख्यामा पशुचौपाया र ठूलो मात्रामा खेतीयोग्य जमिनमा क्षति पुगेपछि त्यहाँको जनजीवन थप कष्टकर बनेको छ ।


















