Logo

 २७ चैत,काठमाडौं । बेलायतबाट एक अत्यन्तै जटिल र अनौठो कानुनी मामला बाहिर आएको छ, जहाँ अदालत र आधुनिक विज्ञान दुवै मिलेर पनि एउटा बच्चाको वास्तविक बाबु को हो भन्ने ठम्याउन असफल भएका छन्। यो घटना समान देखिने जुम्ल्याहा (आइडेन्टिकल ट्वीन्स) दाजुभाइसँग सम्बन्धित छ, जसले पितृत्व निर्धारणलाई चुनौतीपूर्ण बनाएको छ।

‘द सन’ को रिपोर्ट अनुसार एक महिलाले केही दिनको अन्तरालमा ती दुवै जुम्ल्याहा दाजुभाइसँग शारीरिक सम्बन्ध राखेकी थिइन्। सोही अवधिमा गर्भधारण भएपछि बच्चा जन्मिएपछि वास्तविक बाबुको पहिचान ठूलो विवादको विषय बन्यो। मामला प्रारम्भमा पारिवारिक अदालतमा पुगेको थियो र पछि पुनरावेदन अदालतसम्म पुग्यो।

अदालतमा सबैभन्दा महत्वपूर्ण प्रश्न डीएनए परीक्षणको विश्वसनीयता थियो। तर, विशेषज्ञहरूले स्पष्ट पारे कि हाल प्रयोगमा रहेका सामान्य डीएनए परीक्षण विधिहरूले समान जुम्ल्याहा दाजुभाइबीच फरक छुट्याउन सक्दैनन्। किनभने उनीहरू एउटै अण्डा र शुक्रकीटबाट विकसित हुने भएकाले उनीहरूको आनुवंशिक संरचना लगभग पूर्ण रूपमा मिल्दोजुल्दो हुन्छ।

न्यायाधीशहरूले भविष्यमा उन्नत प्रविधिबाट समाधान सम्भव हुन सक्ने बताए पनि हाल त्यस्तो प्रविधि या त उपलब्ध छैन वा अत्यन्तै महँगो छ। त्यसैले अदालतले निष्कर्ष निकाल्दै भन्यो— बच्चाको बाबु यी दुईमध्ये एक भए पनि ठ्याक्कै को हुन् भनेर प्रमाणित गर्न अहिले असम्भव छ।

दुवै दाजुभाइको महिलासँगको सम्बन्ध गर्भधारणको समयमा भएकाले पितृत्वको सम्भावना समान देखिएको छ। यसबीच अदालतले जन्मदर्ता प्रमाणपत्रमा उल्लेख गरिएको व्यक्तिको अभिभावकीय जिम्मेवारी अस्थायी रूपमा हटाइदिएको छ। तर, यसलाई उक्त व्यक्ति बाबु होइनन् भन्ने प्रमाणका रूपमा भने लिन नमिल्ने अदालतले स्पष्ट पारेको छ।

यो घटनाले कानुन र विज्ञान दुवैको सीमिततालाई उजागर गरेको छ। सत्यता नजिक भए पनि त्यसलाई कानुनी रूपमा प्रमाणित गर्न नसकिने अवस्थाले बच्चाको अधिकार, भविष्य र अभिभावकीय जिम्मेवारीबारे नयाँ बहस सुरु गराएको छ। अब अदालतले पितृत्व स्पष्ट नभएसम्म बालकको पालनपोषण र जिम्मेवारी कसरी निर्धारण गर्ने भन्ने विषयमा थप निर्णय गर्ने जनाएको छ।


सम्बन्धित समाचार