२९ चैत, चितवन । भाइ, निम्ताका लागि धेरै धेरै धन्यवाद तर मेरो विवेकले मलाई बारम्बार भनिरहेको छ— आफ्नो जिम्मेवारीमा हुँदा भाटभटेनी बचाउन सकिनँ। अहिले तपाईंहरू उठ्नुभयो, खुसीको पलको साक्षी बन्ने नैतिक हक मसित छैन।
चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले भाटभटेनी व्यवस्थापनका प्रतिनिधि विनोद भण्डारीलाई पठाएको यो छोटो सन्देश ९क्ःक्० अहिले चितवनको प्रशासनिक र सामाजिक वृत्तमा एउटा भावुक दस्ताबेज बनेको छ। यो केवल एउटा मोबाइल सन्देश मात्र थिएन, यो त पदको गरिमाभित्र लुकेको एउटा इमानदार राष्ट्रसेवकको ‘ग्लानी’ र कर्तव्यप्रतिको चरम इमानदारिताको अभिव्यक्ति थियो।
ठ्याक्कै सात महिनाअघि भदौ २२ गते अर्याल सरुवाको चिठ्ठी बोकेर चितवन आइपुगेका थिए। कार्यभार सम्हाल्न नपाउँदै भदौ २४ मा उनको आँखैअगाडि भरतपुरको भाटभटेनी सुपर स्टोरमा आगो दन्कियो। जेनजी आन्दोलनको रापले करोडौँको सम्पत्ति खरानी बनाउँदा सुरक्षाको कमान सम्हाल्न आएका अर्याल निरीह दर्शक बन्नुपर्यो। त्यही रातको आगोले एउटा प्रशासकको मनमा यस्तो डाम लगाइदियो, जुन सात महिनासम्म पनि निको भएको छैन।
शुक्रबार बिहान, आगोले खाएको त्यही भाटभटेनी नयाँ स्वरूपमा ठडिएर पुनः सञ्चालनमा आयो। सहर बौरिएको थियो, भाटभटेनी हाँसेको थियो। व्यवस्थापनले सिडिओ अर्याललाई रिबन काट्न र खुसी साट्न विशेष निमन्त्रणा पठायो। तर, अर्यालले उत्सवको भीडमा जानुको साटो आफ्नो कार्यकक्षको एकान्त रोजे। उनलाई लाग्यो— जहाँ म सुरक्षा दिन असफल भएँ, त्यहाँ विजयको उत्सव मनाउनु मेरो नैतिकताले दिँदैन।
नैतिकताको कसीमा प्रशासक
म सरुवा भएर आउँदा–आउँदै त्यो घटना भयो। जिम्मेवारीबाट उम्किन त पाइँदैन, तर त्यत्रो संरचना आगजनी हुँदा जोगाउन नसक्दा भित्रैदेखि ग्लानी हुँदो रहेछ, सिडिओ अर्यालले आफ्नो मनको गाँठो फुकाउँदै भने, सातै महिनामा भाटभटेनी फेरि हाँसेको देख्दा म दंग छु, तर त्यहाँ गएर खुसी साट्ने मभित्रको नैतिक साहस जुट्न सकेन।
उनको यो भावनात्मक सन्देशले भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलाई समेत भावुक बनायो। गुरुङले स्वयं फोन गरेर अर्यालको यो इमानदारिताको कदर गरे।
चितवनको प्रशासनले इतिहासमा धेरै प्रशासक देख्यो होला, तर आफ्नो कार्यकालको पहिलो दिनको असफलतालाई सात महिनासम्म मुटुमा गाँठो पारेर बस्ने र खुसीको पलमा समेत त्यसको नैतिक मूल्य खोज्ने गणेश अर्याल जस्ता प्रशासक विरलै भेटिन्छन्। सहरमा भाटभटेनी त फर्कियो, तर एउटा इमानदार प्रशासकको मनमा लागेको त्यो ग्लानीको डामले भनिरहेको छ— जिम्मेवारी पदले मात्र होइन, विवेकले कसिन्छ।




















