२ वैशाख, वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ का सांसद बुद्धिप्रसाद पन्तले एक सफल जनप्रतिनिधिले सधैँ नागरिकको जनजीविका र सुशासनको पक्षमा कठोर भएर उभिनुपर्ने बताउनुभएको छ।
सामुदायिक रेडियो नारायणी एफएमले वीरगञ्जमा आयोजना गरेको ‘सम्मान तथा विशेष संवाद’ कार्यक्रममा बोल्दै सांसद पन्तले वीरगञ्जवासीले भोग्दै आएका समस्यालाई नीति निर्माणको तहमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सांसद पन्तले अहिलेको समयमा जनताले राज्यबाट धेरै ठूला कुराभन्दा पनि सरल र सहज सेवाको अपेक्षा गरेको उल्लेख गर्नुभयो। ूजनप्रतिनिधि भनेको शासक होइन, जनताको सेवक र समस्या सुल्झाउने सेतु हो, उहाँले भन्नुभयो, पर्साका नागरिकले सरकारी निकायबाट झेल्दै आएका झन्झट र समस्यालाई संवादको माध्यमबाट सुल्झाउन म निरन्तर लागिरहनेछु। उहाँले वर्तमान सरकार सुशासन कायम गर्न कठोर रूपमा उभिने समेत दाबी गर्नुभयो।
कार्यक्रममा सामुदायिक रेडियो नारायणी एफएमका सल्लाहकार संयोजक गणेश लाठले जनप्रतिनिधिहरू प्रायः स्वार्थ समूहको घेरामा फस्ने गरेको भन्दै त्यसबाट बाहिर निस्कन सुझाव दिनुभयो।
उहाँले वीरगञ्ज देशकै प्रमुख औद्योगिक र व्यापारिक सहर भएकोले यहाँका उद्योगी व्यवसायीले भोग्दै आएका जटिलता, भन्सारका समस्या र व्यावसायिक असुरक्षालाई संसदमा नीतिगत बहसको विषय बनाउन सांसद पन्तको ध्यानाकर्षण गराउनुभयो।
रेडियोका अध्यक्ष गोविन्द देवकोटाले सरकारसँग नागरिकका अपेक्षाहरू चुलिएको बेला जनप्रतिनिधिले ती अपेक्षालाई सम्बोधन गर्ने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सञ्चारमाध्यमले नागरिकका आवाजलाई नेतृत्वसम्म पुर्याउने काम गरिरहेको र त्यसमा जनप्रतिनिधिको सक्रिय साथ चाहिने उल्लेख गर्नुभयो।
संस्थाका महासचिव अरविन्द कुमार सिंहले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा वीरगञ्जको शिक्षा, स्वास्थ्य, ट्राफिक व्यवस्थापन र औद्योगिक विकासका बारेमा गहन छलफल भएको थियो।
कार्यक्रममा रेडियोका वरिष्ठ उपाध्यक्ष रामाकान्त पटेल, उपाध्यक्ष नुतन सरावगी, कोषाध्यक्ष कमलमोहन पोखरेल, सदस्यहरू विरेन्द्रराज कँडेल, अफसना खातुन तथा कार्यकारी निर्देशक शिवनाथ यादव लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले वीरगञ्जको साख जोगाउन र यसलाई वास्तवमै आर्थिक राजधानीको रूपमा विकास गर्न जनप्रतिनिधिको सक्रियता नै निर्णायक हुने धारणा राखेका थिए।


















