Logo

५ वैशाख, काठमाडौँ । मानव सभ्यताका अनमोल नासो र ऐतिहासिक धरोहरहरूको संरक्षणका लागि जनचेतना फैलाउने संकल्पका साथ आज ‘विश्व सम्पदा दिवस’ (१८ अप्रिल) मनाइँदै छ। सन् १९८३ देखि युनेस्कोको आह्वानमा विश्वभर सुरु गरिएको यो दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाउन लागिएको हो ।

दिवसको अवसरमा वाग्मती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयले राजधानीमा ‘सम्पदा पदयात्रा’ को आयोजना गरेको छ। कार्यालय प्रमुख पवनकुमार पोखरेलका अनुसार आज बिहान काठमाडौँको ऐतिहासिक गहना पोखरीबाट सुरु हुने पदयात्रा भाटभटेनी मन्दिर पुगेर समापन हुनेछ। पदयात्रामा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठसहित संस्कृतिविद् र सर्वसाधारणको सहभागिता रहने जनाइएको छ ।

पदयात्राको समापनपछि काठमाडौँको प्राचीन बस्ती हाँडीगाउँ क्षेत्रको सांस्कृतिक र ऐतिहासिक महत्त्वबारे विशेष अन्तरक्रिया कार्यक्रम समेत गरिनेछ। यसले स्थानीय सम्पदाको पहिचान र तिनको संरक्षणमा समुदायको भूमिकाबारे बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

हाल नेपालका १० वटा मौलिक सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन्, जसमा काठमाडौँ उपत्यकाका सात क्षेत्र (वसन्तपुर, पाटन, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध र स्वयम्भू) सहित लुम्बिनी, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । पुर्खाले सुम्पिएका यी सांस्कृतिक र प्राकृतिक सम्पत्तिलाई भावी पुस्ताका लागि सुरक्षित राख्नु नै यस दिवसको मुख्य सन्देश रहेको छ ।


सम्बन्धित समाचार