Logo

६ वैशाख, वीरगञ्ज । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा शनिबार साँझ भएको दुखद जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। वनगाड कुपिण्डे–८ थाराबाट कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा पर्दा थप एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या बढेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार साँझ साढे ५ बजे बनगाड कुपिण्डे–१२ धाइरे ९पुथाला० मा जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। उक्त दुर्घटनामा परी बनगाड कुपिण्डे–८ थारा निवासी ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो।

सोही दुर्घटनामा परी गम्भीर घाइते भएका ३० वर्षीय मनबहादुर थापाको सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो।

जिपमा चालकसहित १८ जना सवार रहेका थिए। बाँकी १४ जना घाइतेहरूको हाल मेहलकुना अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ५ जनाको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

गम्भीर घाइते हुनेहरूमा अम्मर सिंह कुँवर, डम्मर घर्ती, जनक थापा, भुपेन्द्र कुँवर, भुलबहादुर थापा, जुगसिंह पुन र जिप चालक ३८ वर्षीय कुलबहादुर राना रहेका छन्। त्यस्तै, अम्मर पुन, नरसिङ थापा, प्रेमबहादुर घर्ती, नरबहादुर थापा, कर्णबहादुर थापा, लालबहादुर घर्ती र १५ वर्षीय तिलक थापाको अवस्था मध्यम रहेको छ।

विवाहको खुसीयाली बोकेर हिँडेको जन्ती टोली गन्तव्यमा नपुग्दै दुर्घटनामा परेपछि यतिबेला सल्यानको थारा गाउँ शोकमग्न बनेको छ। अनियन्त्रित भई सडकबाट तल खसेको उक्त जिप दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार