७ वैशाख, कलैया (बारा) । बाराको सदरमुकाम कलैयामा खसीको मासुको नयाँ मूल्य निर्धारण गरिएको छ । बजारमा मासुको मूल्यमा एकरूपता कायम गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले बारा उद्योग वाणिज्य संघले नयाँ दररेट सार्वजनिक गरेको हो ।
संघका (वाणिज्य) उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन) को अध्यक्षतामा आइतबार बसेको बैठकले स्थानीय मासु व्यवसायीहरूसँगको समन्वय र छलफलपछि मूल्य समायोजन गर्ने निर्णय गरेको हो । बैठकले छालासहितको खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ५० रुपैयाँ र छाला नभएको मासुको मूल्य प्रतिकिलो १ हजार १ सय रुपैयाँ कायम गरेको छ ।
उक्त निर्णय तत्कालै प्रभावकारी हुने गरी लागू गरिएको संघले जनाएको छ । संघले निर्धारण गरेको नयाँ मूल्यसूचीलाई पूर्ण रूपमा पालना गर्न सम्पूर्ण मासु व्यवसायीहरूलाई कडा निर्देशन दिएको छ । तोकिएको मूल्यमा नै उपभोक्तालाई सेवा उपलब्ध गराउन आग्रह गर्दै संघले बजारको अनुगमन र नियमनलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ ।

















