७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ ।
सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई भित्रैदेखि कमजोर बनाउन खोज्ने तत्वहरूसँग अब कुनै पनि हालतमा सम्झौता नगर्ने कठोर चेतावनी दिनुभएको छ ।
महामन्त्री धवलशमशेर राणालगायतका असन्तुष्ट पक्षलाई लक्षित गर्दै उहाँले आफ्नै जिल्लामा संगठन बनाउन नसक्ने र चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरूका कुरा अब नसुनिने स्पष्ट पार्नुभयो। पार्टीभित्र रहेर पार्टीलाई नै ‘खरानी’ पार्न खोज्ने प्रवृत्तिलाई निषेध गरिने भन्दै उहाँले अबको समाधान महाधिवेशन मात्रै भएको जिकिर गर्नुभयो ।
अध्यक्ष लिङ्देनले आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा आफू नरहेको प्रष्ट पार्दै वैधानिक र व्यवस्थित तवरले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आन्तरिक राजनीतिसँगै राष्ट्रिय राजनीतिमा पनि आक्रामक देखिएका लिङ्देनले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ ।
विशेषगरी गृहमन्त्री सुधन गुरुङका बारेमा बाहिर आएका विवादास्पद विषयहरूमा सरकार र स्वयं गृहमन्त्रीले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उहाँको माग छ । संसदमा प्रतिपक्ष कमजोर देखिएको अवस्थामा राप्रपाले सडक र सदन दुवै ठाउँबाट सरकारका गलत कार्यको कडा प्रतिवाद गर्ने उहाँले घोषणा गर्नुभयो ।

















