७ बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं विभिन्न विश्वविद्यालयका कुलपति बालेन्द्र (बालेन) शाहले मुलुकको उच्च शिक्षा सुधारका लागि सक्रियता बढाउनुभएको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ वटा विश्वविद्यालय र सातवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सामूहिक रूपमा आमन्त्रण गरी उहाँले प्राज्ञिक क्षेत्रमा आइपर्ने हरेक चुनौतीमा सरकारले बलियो साथ दिने प्रतिबद्धता जनाउनुभयो । विशेषगरी विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप र प्रशासनिक उल्झनका कारण सिर्जित ‘अप्ठ्यारो’ परिस्थिति सुधार्न आफू तत्पर रहेको उहाँको सन्देश थियो ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकारको नेतृत्वमा बालेन शाहको पकड झन् मजबुत बन्दै गएको देखिन्छ। प्रधानमन्त्रीका रूपमा उहाँले विश्वविद्यालयका उपकुलपतिहरूसँग गर्नुभएको यो सिधा संवादले रास्वपाको ‘मेरिटोक्रेसी’ र सुशासनको एजेन्डालाई प्राज्ञिक क्षेत्रसम्म विस्तार गर्ने रणनीतिलाई संकेत गरेको छ ।
छलफलमा सहभागी एक उपकुलपतिका अनुसार, प्रधानमन्त्रीले विश्वविद्यालयका समस्याहरूलाई कर्मचारीतन्त्रीय ढिलासुस्तीमा नअल्झाई सिधै सम्बोधन गर्ने र आवश्यक पर्दा राजनीतिक तहबाटै ‘गाँठो फुकाउने’ आश्वासन दिनुभएको छ ।
यो भेटघाटले रास्वपा नेतृत्वको वर्तमान सरकार शिक्षा क्षेत्रमा संरचनात्मक परिवर्तन गर्न इच्छुक रहेको स्पष्ट पारेको छ । प्रधानमन्त्रीले उपकुलपतिहरूलाई निडर भएर काम गर्न प्रोत्साहन गर्दै विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कार्यान्वयन र गुणस्तर सुधारमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ ।
बालेन शाहको यो अग्रसरताले एकातिर प्राज्ञिक क्षेत्रमा उत्साह थपेको छ भने अर्कोतिर पार्टी र सरकार दुवैमा उहाँको कार्यकारी भूमिका र प्रभावलाई थप शक्तिशाली रूपमा स्थापित गरेको छ ।

















