८ बैशाख, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो साढे ३ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।
हदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यस बैठकलाई वर्तमान राजनीतिक परिदृश्यमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर कसुरमा पक्राउ परेका विवादित व्यवसायी दिपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको व्यावसायिक साझेदारी रहेको तथ्यहरू सार्वजनिक भएपछि उहाँमाथि राजीनामा दिन वा बर्खास्त गर्न चौतर्फी दबाब बढिरहेको सन्दर्भमा यो बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शाहले सुशासन र सदाचारलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै आउनुभएको छ, जसको झलक यसअघि नै देखिइसकेको छ । पदको दुरुपयोग गर्दै आफ्नै पत्नीलाई स्वास्थ्य बिमा बोर्डको सदस्य नियुक्त गरेको आरोप लागेपछि प्रधानमन्त्रीले श्रममन्त्री दीपककुमार साहलाई दुई साताभित्रै पदमुक्त गर्नुभएको थियो । सोही नजिरलाई आधार मान्दै अहिले गृहमन्त्री गुरुङको हकमा पनि प्रधानमन्त्रीले कडा कदम चाल्न सक्ने आकलन गरिएको छ ।
आजको बैठकमा मन्त्रालयका नियमित कार्यसूचीका अतिरिक्त गृहमन्त्रीको विवाद र त्यसले सरकारको छविमा पारेको असरबारे गम्भीर छलफल हुने सचिवालय स्रोतले जनाएको छ । विवादमा मुछिएका मन्त्रीहरूलाई संरक्षण नदिने बालेनको घोषित नीतिका कारण यो बैठकले गृहमन्त्रीको भविष्यबारे निर्णायक फैसला गर्न सक्ने सम्भावना बलियो देखिएको छ ।
सरकारले सुशासनको क्षेत्रमा कायापलट गर्ने दाबी गरिरहेका बेला आफ्नै मन्त्रिमण्डलका सदस्यमाथि उठेका प्रश्नको सम्बोधन कसरी हुन्छ भन्नेमा आम चासो केन्द्रित भएको छ ।

















