८ वैशाख,भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तोकिएको समयभन्दा ढिलो भइरहेको छ। ठेक्का म्याद सकिन करिब आठ महिना बाँकी रहँदा परियोजनाको करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
महानगरपालिकाले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालयन कालिञ्चोक बिबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार रङ्गशाला २०८३ साल पुस २२ भित्र तयार हुनुपर्नेछ।
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हालसम्म एक टावरको काम लगभग सकिएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान सम्पन्न भएको छ। चारमध्ये एक प्यारापिटको निर्माण पूरा भएको छ भने दुईवटा प्यारापिटको ढलान सकिएको र अर्कोको काम सुरु भएको छ।
त्यस्तै, मैदान निर्माणको काम पनि सुरु गरिएको छ। मैदानमा पाँचवटा पिच बनाउने तयारी भइरहेको छ। मैदानसम्म पुग्ने बाटो, पिच निर्माण, भूमिगत पावर केबल र प्लम्बिङ जस्ता पूर्वाधारका कामहरू पनि समानान्तर रूपमा अघि बढाइएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न निरन्तर ताकेता गरिरहेको बताएका छन्।
यसअघि धुर्मस–सुन्तली फाउन्डेसनले निर्माण थालेको रङ्गशाला आर्थिक तथा व्यवस्थापकीय कारणले अघि बढ्न नसकेपछि महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि प्रदेश र संघीय सरकारको सहकार्यमा निर्माण कार्य पुनः अघि बढाइएको हो।

















