Logo

८ बैशाख, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ जोडिएको विवादित सेयर काण्डले राजनीतिक मोड लिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यो प्रकरणमा कडा आपत्ति जनाउँदै निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न माग गरेको छ । एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीमाथि लागेका गम्भीर आरोपहरूको सत्यतथ्य बाहिर ल्याउन शक्ति र प्रभावबाट मुक्त रहने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभएको हो ।

एमालेले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भए लगत्तै गृहमन्त्रीको नाम विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएर आउनुले सम्भावित ठुलो अनियमितताको रहस्य उजागर गरेको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीको संलग्नता देखिएका विषयहरूमा छानबिन गर्न उच्चस्तरीय संयन्त्र तत्काल बनाइयोस् र अनुसन्धानलाई प्रभावरहित बनाउन मन्त्री स्वयंले मार्ग प्रशस्त (राजीनाम) गरुन्ए । ’ मालेले अनुसन्धान प्रक्रियामा ढिलासुस्ती वा ढाकछोप गरिए त्यसले गम्भीर राजनीतिक परिणाम निम्त्याउने चेतावनी समेत दिएको छ ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायीको व्यावसायिक साझेदारका रूपमा गृहमन्त्रीको नाम बाहिरिएपछि उहाँमाथि नैतिक संकट चुलिएको छ । एमालेले यस प्रकरणलाई केवल एक व्यक्तिको विवादका रूपमा मात्र नभई वर्तमान सरकारको सुशासनप्रतिको प्रतिबद्धताको कसीमा हेरिनुपर्ने बताएको छ ।

एकातिर सडकमा युवाहरूको विरोध र अर्कोतिर सदनको ठुलो दल एमालेको यो कडा अडानले गृहमन्त्री गुरुङ र वर्तमान सत्ता गठबन्धनमाथि राजीनामाका लागि ठुलो दबाब सिर्जना गरेको छ ।


सम्बन्धित समाचार