Logo

१२ वैशाख, वीरगञ्ज । वीरगञ्जको नगवापोखरी नजिकै लामो समयदेखि नालारोड निमार्ण नहुदाँ स्थानीयवासीलाई समस्या भएको छ । नगवापोखरीको पुर्व र दक्षिणमा एक वर्ष देखि नाला निमार्ण गर्नका लागि ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनले सडक खनेर छाडि दिएको छ । सडक खनेर छाड्दा अहिले गर्मीको मौसममा स्थानीयवासी तथा व्यापारीलाई बाटो भएर आवतजावत गर्नमा समस्या भएको हो ।

बाटोमा भएको धुलोले स्थानीयको स्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको भएपनि बाटो निर्माण र धुलो उड्नबाट बचाउन ठेकेदारले कुनै किसिमको चासो नदेखाएको स्थानीयबासी एवम् व्यापारीले बताएका छन् ।

ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनको चरम लापरवाहीका कारण वीरगञ्ज महानगर–१६ का स्थानीय, व्यापारी एवम् आसपासका जनताहरु मर्कामा पर्दै आएका छन् ।

नगवापोखरी नजिकै भएर गएको बाटो र नालानिर्माणको ठेक्का पप्पुले पाएको छ । पप्पु कन्स्ट्रक्शनले ठेक्का सकारेर लामो समयदेखि रोड र नालानिर्माण नगरेकै कारण उनीहरुलाई समस्या परेको छ ।

नगवापोखरीको पूर्वबाट दक्षिणतर्फ लगभग तीनसय मिटर बाटो ठेकेदार कम्पनीले खनेर छाडिदिएको हो । बाटो र नाला निर्माणको लागि भनेर भएको सडक पनि खनेर छाडिदिएका कारण अहिले बाटो भएर आवतजावत गर्नमा समेत समस्या भएको स्थानीय मुस्तकीम मियाँले बताउनुभयो ।

उहाँले सम्बन्धित निकायलाई खबर गर्दा समेत कुनै सुनुवाई नभएको उहाँको गुनासो छ । रोड र नालाको बिकाश गर्न भनिएको सडकलाई खनेर छाड्दा अहिले गर्मीको मौसममा त्यहाँबाट उड्ने धुलोले आफुलाई आवतजावत गर्नमा समस्या भएको नगवा पोखरी छेउमै जुत्ताचप्पलको व्यापार गर्दै आएका राहुल सिंहले बताउनुभयो ।

उहाँले व्यापारको समयमा समेत ग्राहक नआउने तथा सामानहरुमा धुलो जमेर व्यापार चौपट हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । पप्पु कन्स्ट्रक्शनले साढे ६ करोडमा उक्त बाटो र नाला निर्माण गर्ने ठेक्का लिएको वडा नम्बर १६ का वडाध्यक्ष परशुराम चौरसियाले जानकारी दिनुभयो ।

उहाँले ठेकेदार कम्पनीले नै १८ महिनाको ठेक्का समय भएको भन्दै बाटो निर्माणमा ध्यान नदिएको जिकिर गर्नुभयो । वडाध्यक्ष चौरसियाले जल्ला पूर्वाधार कार्यालयमा गएर आफुले पहल गर्दा ८० लाख पेश्की समेत उठाई सकेको पप्पु कन्स्ट्रक्शनले काम गरिरहेको भनि देखाउनकै लागि बाटो खनेर छाडेको बताउनुभयो ।

चौरसियाले ठेकेदार कम्पनीले बाटो खनेर छाडिदिएपछि आफु सधै स्थानीय र व्यापारीबाट पनि गाली खाईरहेको गुनासो गर्नुभयो । वीरगञ्ज १६ नगवा पोखरीको छेउमा बाटो र नाला निर्माणको लागि १८ महिनाको समय अवधि लिएर ठेक्का पाएको ठेकेदारले समयमा नै बाटो नबनाउनु र उल्टै भएको बाटो खनेर धुलो उडाउनुले अहिले स्थानीयबासीलाई बिकासको सट्टा विनाश भईरहेको अनुभव भएको छ । तसर्थ ठेकेदार कम्पनी र सम्बन्धित निकायले बाटो र नाला निर्माणमा पहल गर्नुपर्ने तथा स्थानीयको पिरमर्कालाई पनि बुझनु पर्ने जरुरी छ ।


सम्बन्धित समाचार