११ वैशाख, चितवन । चितवनको माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा चितुवाको आक्रमणबाट दुईवटा बाख्रा मरेका छन्। गएको बुधबार बेलुका स्थानीय बासिन्दा रत्नमाया थापाको बाख्राको खोरमा चितुवाले आक्रमण गरेको हो। चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रबाट निस्किएको चितुवा बस्ती पसेर खोरमै रहेका जनावरमाथि जाइलागेपछि माडीवासीमा फेरि एकपटक त्रास फैलिएको छ।
कृषि तथा पशुपालनमा निर्भर माडीका किसानहरूका लागि जङ्गली जनावरको आक्रमण टाउको दुखाइको विषय बनेको छ। स्थानीय खडानन्द काफ्लेका अनुसार बाख्रापालन र कृषि उत्पादनबाटै जीविकोपार्जन गरिरहेका समुदायका लागि यस्ता घटनाले ठूलो आर्थिक क्षति मात्र नभई निरन्तर असुरक्षाको अवस्था सिर्जना गरेको छ। खोरमै पसेर चितुवाले बाख्रा मार्न थालेपछि अब के गरी पशु पाल्ने रु काफ्लेले प्रश्न गर्नुभयो। उहाँका अनुसार यस्ता घटना पटक९पटक दोहोरिँदा कृषि र पशुपालन दुवै क्षेत्र धराशायी बन्दै गएको छ।
माडी क्षेत्र राष्ट्रिय निकुञ्ज र वन क्षेत्रले घेरिएको छ। यहाँका किसानले खेतीबाली जोगाउन हात्ती, गैँडा र बँदेलसँग लड्नुपर्छ भने गोठका चौपाया जोगाउन बाघ र चितुवासँग जुध्नुपर्छ। तर, निकुञ्ज प्रशासन र स्थानीय निकायले वन्यजन्तुलाई बस्ती छिर्नबाट रोक्न र खेतीबाली जोगाउन कुनै ठोस दीर्घकालीन योजना ल्याउन नसक्दा किसानहरू वर्षेनी मर्कामा पर्ने गरेका छन्। भरपर्दो मेसजाली वा विद्युतीय तारबारको अभावमा किसानको लगानी र श्रम जङ्गली जनावरको आहारा बनिरहेको छ।
घटनापछि अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले पीडितलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने आश्वासन दिनुभएको छ। उहाँले वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै जाँदा किसानहरू दैनिक त्रासमा बाँच्न बाध्य भएको स्वीकार गर्दै निकुञ्ज र स्थानीय सरकारसँग सहकार्य गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
तर, स्थानीयवासी भने कागजी प्रक्रिया झन्झटिलो हुने र प्राप्त हुने क्षतिपूर्तिले वास्तविक लगानीको तुलनामा निकै कम हुने गुनासो गर्छन्। जङ्गली जनावरले पशुपन्छीमाथि आक्रमण गर्ने, खेतीपाती नष्ट गर्ने र कहिलेकाहीँ मानिसलाई समेत ज्यानै लिने गरी आक्रमण गर्ने घटना बढ्दै जाँदा माडीमा कृषि व्यवसाय नै चुनौतीपूर्ण बनेको छ। स्थानीयले तत्काल निकुञ्ज र वनको सीमामा प्रभावकारी भौतिक संरचना निर्माण गरी आफूहरूको धनजनको सुरक्षा गर्न सरकारसँग माग गरेका छन्।




















