Logo

१२ वैशाख,काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा शनिबार बिहानदेखि संरचना हटाउने कार्य सुरु गरिएको छ। सरकारले दुई दिनअघि सूचना जारी गर्दै काठमाडौंका मुख्य सुकुमवासी बस्तीहरू आज र भोलि खाली गराउने निर्णय गरेपछि थापाथली, सिनामंगल र मनोहरा क्षेत्रमा बस्ती हटाउने प्रक्रिया अघि बढाइएको हो।

थापाथली क्षेत्रमा बिहानैदेखि डोजर परिचालन गरिएको छ भने अन्य स्थानहरूमा पनि बस्ती खाली गर्ने काम क्रमशः अघि बढिरहेको छ। वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयवासीहरू सरकारी निर्देशनअनुसार स्थानान्तरण भइरहेका छन्। केहीले वैकल्पिक व्यवस्था गरिसकेका छन् भने कतिपय अझै कहाँ जाने भन्ने अन्योलमा छन्।

सरकारले सुकुमवासी व्यवस्थापनका लागि तीन वटा स्थान तोकेको जनाएको छ। तर स्थानान्तरणका क्रममा धेरै परिवार प्रभावित बनेका छन्। थापाथली क्षेत्रमा देखिएका दृश्यहरू भावुक बनेका छन्, जहाँ केही परिवारहरू आफ्ना साना बालबालिका र सामानसहित बस्ती छोड्न बाध्य भएका देखिन्छन्।

एक आमाले कोक्रोमा बच्चा राखेर बस्ती छोड्नुपर्ने दृश्यले स्थानीय तथा प्रत्यक्षदर्शीहरूको ध्यान खिचेको छ। अहिले बस्ती बाहिरका खाली क्षेत्रमा केही सुकुमवासी परिवारहरू अस्थायी रूपमा खाना पकाएर बसिरहेका छन्।


सम्बन्धित समाचार