१२ वैशाख,काठमाडौं । गाजा क्षेत्रमा शुक्रबार भएको इजरायली आक्रमणमा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ। मृतकमध्ये हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायसँग आबद्ध ७ जना प्रहरीसमेत रहेको स्थानीय स्रोतहरूले जनाएका छन्।
उत्तर गाजाको बेइत लाहिया क्षेत्रमा रहेको कमाल अडवान अस्पताल नजिकका आवासीय घरहरूमा इजरायली तोपखानाले गोलाबारी गर्दा कम्तीमा ३ जनाको मृत्यु भएको छ। मृतकमध्ये बालबालिका पनि रहेका छन् भने केही घाइते भएका छन्।
त्यस्तै, दक्षिण गाजाको खान युनिस पश्चिमस्थित अल–मवासी क्षेत्रको ‘बिर १९’ क्षेत्रमा प्यालेस्टिनी प्रहरीको सवारीसाधनलाई इजरायली ड्रोनले लक्षित गरी आक्रमण गरेको बताइएको छ। खान युनिसस्थित नासेर अस्पतालका स्रोतका अनुसार उक्त घटनापछि ५ वटा शव र धेरै घाइतेहरू अस्पताल पुर्याइएको छ।
यसअघि गाजा सिटीमा गरिएको अर्को आक्रमणमा प्रहरी गस्तीमाथि हमला हुँदा दुई जना प्रहरीको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको जनाइएको छ।
यी घटनाहरू जारी तनाव र युद्धविराम उल्लङ्घनका बीच भएको बताइएको छ। गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम लागू भएयता हालसम्म ७९१ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने २,२३५ जना घाइते भएका छन्।
इजरायली पक्षबाट यी पछिल्ला घटनाबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन।



















