१२ वैशाख,काठमाडौं । गर्भवती महिला गीता पाण्डेको मृत्यु प्रकरणको छानबिन गर्न गठित समितिले नेपाल मेडिकल काउन्सिललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ। डा. सम्राट पराजुली नेतृत्वको समितिले तीन दिनको अध्ययनपछि प्रतिवेदन तयार पारेको हो।
समितिले अन्तिम प्रतिवेदन नआएसम्म घटनामा संलग्न बुटवलस्थित जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक सिल गर्न सिफारिस गरेको छ। साथै, डा. सतिश रूपाखेतीलाई बिरामी जाँचमा अस्थायी प्रतिबन्ध लगाउन पनि सुझाव दिएको छ। काउन्सिलले सोहीअनुसार निर्णय गरिसकेको जनाएको छ।
नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवका अनुसार विस्तृत छानबिनपछि अन्तिम प्रतिवेदन सार्वजनिक गरिनेछ, जसले घटनाको सम्पूर्ण पक्ष उजागर गर्नेछ।
यद्यपि, प्रारम्भिक प्रतिवेदनमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्रीबारे स्पष्ट टिप्पणी गरिएको छैन। मृतकका पति प्रकाश पाण्डेले भने खत्रीविरुद्ध किटानी जाहेरी दिएका छन्।
गीता पाण्डेको वैशाख ६ गते गर्भपतनका क्रममा मृत्यु भएको थियो। १३ हप्ताभन्दा बढीको गर्भ असामान्य रहेको भन्दै उनी वैशाख ५ गते खत्री नर्सिङ होम पुगेकी थिइन्। तर त्यहाँ उपचार नभई उनलाई बुटवल अस्पताल लाइनस्थित जोनल फार्मेसी क्लिनिकमा पठाइएको थियो।
जोनल फार्मेसीले १६ हजार रुपैयाँ शुल्क लाग्ने भन्दै अग्रिम रकम लिएर औषधि दिएको र पछि इन्दुलेखा क्लिनिकमा लगिएको थियो। सोही क्रममा गरिएको गर्भपतन प्रक्रियाका दौरान उनको ज्यान गएको जनाइएको छ। इन्दुलेखा क्लिनिकमा डा. सतिश रूपाखेतीले उनको जाँच गरेका थिए।
मृतकका पति प्रकाश पाण्डेले स्वास्थ्य संस्थाहरूले नाफामुखी ढंगले काम गर्दा पत्नीको ज्यान गएको आरोप लगाएका छन्। उनले डा. डीबी खत्री र डा. सतिश रूपाखेतीसहित अन्य व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन्।
जाहेरीपछि प्रहरीले सम्बन्धित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेकामध्ये डा. खत्री र रूपाखेती भने थुनामुक्त भइसकेका छन्।
यसअघि आक्रोशित आफन्तले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा तालाबन्दीसमेत गरेका थिए।
मृतक गीता पाण्डे रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी थिइन् भने उनका पति प्रकाश पाण्डे सरकारी अधिकृत हुन्।


















