Logo

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक उच्चस्तरीय डिनर कार्यक्रममा गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ ।

वाशिङ्टन हिल्टन होटलमा आयोजित पत्रकारहरूसहितको कार्यक्रममा एक्कासी गोली चलेपछि सुरक्षाकर्मीले ३१ वर्षीय कोल एलेनलाई नियन्त्रणमा लिएका छन् । एलेन क्यालिफोर्नियाका सफल कम्प्युटर इन्जिनियर, वैज्ञानिक र स्वतन्त्र गेम डेभलपर भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनापछि राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया र उपराष्ट्रपति जेडी भान्सलाई सिक्रेट सर्भिसले तत्काल सुरक्षित स्थानमा पुर्‍याएका थिए ।

इन्जिनियरिङदेखि भिडियो गेम निर्माणसम्मको पृष्ठभूमि

अनुसन्धानका क्रममा कोल एलेनको शैक्षिक र व्यावसायिक करियर निकै उत्कृष्ट देखिएको छ । उनले सन् २०१७ मा प्रख्यात क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्यालटेक) बाट मेकानिकल इन्जिनियरिङमा स्नातक र २०२५ मा क्यालिफोर्निया स्टेट युनिभर्सिटीबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर पूरा गरेका थिए ।

नासाको जेट पर्पल्सन ल्याब्रोटरीमा अनुसन्धान फेलोका रूपमा समेत काम गरिसकेका एलेनले ‘फर्स्ट ल’ नामक सुटर गेम र भौतिकशास्त्रमा आधारित ‘बोहराइडम’ नामक भिडियो गेम निर्माण गरेका थिए । रोचक कुरा के छ भने, उनलाई सन् २०२४ को डिसेम्बरमा ‘महिनाको उत्कृष्ट शिक्षक’ समेत घोषणा गरिएको थियो ।

सुरक्षा जाँच चौकीमा आक्रमण र जवाफी कारबाही

शनिबार राति आयोजित कार्यक्रममा एलेन हतियारसहित सिक्रेट सर्भिसको जाँच चौकीतर्फ दौडिएका थिए । उनले त्यहाँ तैनाथ एक सुरक्षा अधिकारीमाथि गोली प्रहार गरे पनि बुलेटप्रुफ भेस्टका कारण ती अधिकारीको ज्यान जोगिएको छ ।

सुरक्षा निकायका एजेन्टहरूले तत्काल जवाफी कारबाही गरी उनलाई नियन्त्रणमा लिएका थिए । कारबाहीका क्रममा घाइते भएका एलेनलाई हाल अस्पताल पुर्‍याइएको छ । अमेरिकी फेडेरल इलेक्सन कमिसनको अभिलेखअनुसार उनले सन् २०२४ को निर्वाचनका क्रममा कमला ह्यारिसको पक्षमा २५ डलर चन्दा समेत दिएको पाइएको छ ।

राष्ट्रपति ट्रम्पको टिप्पणी र कार्यक्रमको निरन्तरता

घटनापछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले एलेनलाई ‘एक्लो आक्रमणकारी’ र गम्भीर मानसिक समस्याग्रस्त व्यक्तिको संज्ञा दिएका छन् । गोली चल्नासाथ सिक्रेट सर्भिसको काउन्टर असल्ट टिम (सीएटी) ले मञ्चमा उभिएर सुरक्षा घेरा तयार पारेका थिए भने सहभागीहरू टेवलमुनि निहुरिएर बसेका थिए ।

केही समयको तनावपूर्ण स्थिति र सुरक्षा जाँचपछि मञ्चबाट एक वक्ताले डिनर कार्यक्रम पुनः सुरु हुने घोषणा गरेका थिए । यो घटनाले अमेरिकी राष्ट्रपतिको सुरक्षा चुनौती र ‘लोन वुल्फ’ आक्रमणको जोखिमलाई पुनः बहसमा ल्याएको छ ।


सम्बन्धित समाचार
भर्खरै