Logo

१४ वैशाख,वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथको मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्ने कार्य मंगलबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।

सोमबार वीरगञ्ज महानगरपालिकामा महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई व्यवस्थित रूपमा अघि बढाउन आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो। बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा तथा नापी कार्यालय पर्साका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

हाल सडक विस्तारका क्रममा केही संरचना हटाइए पनि वास्तविक केन्द्रभाग स्पष्ट नभएकाले स्थानीयवासीमा अन्योलता देखिएको थियो। विशेषगरी संरचना हटाउने सीमाबारे स्पष्टता नहुँदा निरन्तर गुनासो उठ्दै आएको थियो।

अब केन्द्रविन्दु निर्धारण भएपछि सडकको दायाँ–बायाँ बराबर दूरी कायम गरी चौडाइ सुनिश्चित गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले सडक विस्तार कार्यलाई थप पारदर्शी, व्यवस्थित र विवादरहित बनाउने विश्वास लिइएको छ।

नापजाँचका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराउनेछ भने नक्सा तथा मापनसम्बन्धी काम नापी कार्यालय पर्साले गर्नेछ।

सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर भोला प्रसाद साहका अनुसार मंगलबार बिहानदेखि नै नापजाँच कार्य सुरु हुनेछ। यसका लागि सडक डिभिजन, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ, जसले नापजाँचदेखि कार्यान्वयनसम्म समन्वय गर्नेछ।

यसअघि सडक विस्तार अभियानअन्तर्गत आइतबार गण्डकदेखि भन्सारसम्मका घर तथा टहरामा डोजर चलाइएको थियो।


सम्बन्धित समाचार