Logo

१४ वैशाख,वीरगञ्ज ।पर्साको छिपहरमाई गाउँपालिकामा तलब नपाएको भन्दै करारका कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गर्दै धर्ना दिएका छन्। गाउँपालिका तथा वडा कार्यालयहरूमा कार्यरत करिब ५० जना कर्मचारी ७ महिनादेखि तलब नपाएको भन्दै आन्दोलित भएका हुन्।

आन्दोलनरत कर्मचारीहरू बिहान ९ बजेदेखि भिस्वास्थित गाउँपालिका कार्यालय अगाडि धर्नामा बसेका छन्। उनीहरूले कार्यालयका सबै सेवा ठप्प पारेका छन्, जसका कारण प्रशासनिक कामकाज पूर्ण रूपमा प्रभावित भएको छ। लामो समयदेखि तलब नपाउँदा दैनिक जीवन चलाउन समेत कठिन भएको उनीहरूको भनाइ छ।

वडा नं. ५ का कम्प्युटर अपरेटर लालबाबु महमदले कात्तिक महिनादेखि आफूहरू तलबविहीन रहेको बताएका छन्। उनका अनुसार पटक–पटक सम्बन्धित अधिकारीहरूसँग सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो छ। उनले माघ महिनादेखि करार अवधि थप नभएको र कात्तिकयता तलब पनि नपाएको बताए।

कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग बारम्बार छलफल प्रयास गरे पनि समस्या समाधान नभएको आरोप लगाएका छन्। उनीहरूका अनुसार पटक–पटक जानकारी गराउँदा पनि कुनै पहल नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो।

धर्नाका कारण गाउँपालिका कार्यालयसहित पाँचवटै वडा कार्यालयको सेवा प्रवाह ठप्प भएको छ, जसले गर्दा सेवाग्राहीहरू आवश्यक सेवाबाट वञ्चित भएका छन्।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत कादिर बाबु देवानसँग सम्पर्क हुन सकेन। यता, उनको स्थानमा संजीव कुमार साह सरुवा भए पनि उनी हालसम्म कार्यालयमा हाजिर नभएको बताइएको छ।


सम्बन्धित समाचार