१५ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका स्थानीयवासीहरूले लामो समयदेखि अलपत्र परेको निर्माण कार्यप्रति तीव्र असन्तुष्टि जनाएका छन्। ठेकेदार हरिनारायण र पप्पु कन्स्ट्रक्सनको लापरवाहीका कारण ८ वर्षदेखि आयोजना अधुरै रहेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन्।
स्थानीयका अनुसार ८ वर्षअघि भएको ठेक्का सम्झौताअनुसार निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम पूरा भएको छैन। यसले दैनिक जनजीवनमा समस्या सिर्जना गर्नुका साथै विकास निर्माणप्रति जनविश्वास घटाएको उनीहरूको भनाइ छ।
समस्या समाधानका लागि दबाब सिर्जना गर्न स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमार्फत उनीहरूले ठेक्का सम्झौताअनुसार काम तत्काल सम्पन्न गर्न र लापरवाही गर्ने ठेकेदारमाथि कडा कारबाही गर्न माग गरेका छन्।
स्थानीयहरूले समयमै काम सम्पन्न नहुँदा सरकारी बजेटको दुरुपयोग भएको आशंका समेत व्यक्त गरेका छन्। उनीहरूले सम्बन्धित निकायलाई जिम्मेवार बन्न र छिटो समाधान निकाल्न आग्रह गरेका छन्।


















