Logo

१ जेठ, काठमाडौं । संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूलाई कुनै पनि भ्रममा नपरी सकारात्मक संवादमा सहभागी हुन आह्वान गरेको छ ।

कार्यदलका संयोजक असिम शाहले आज साँझ ५ बजे तय गरिएको छलफलका विषयमा देखिएका अन्योलहरूलाई चिर्दै युवा पुस्ताको आवाजलाई संविधान संशोधनको बहसपत्रमा समेट्नु नै मुख्य ध्येय रहेको स्पष्ट पार्नुभएको छ । अघिल्लो सरकारसँग भएका सहमतिको विषयलाई लिएर केही प्रतिनिधिहरूले असन्तुष्टि र बहिष्कारको कुरा उठाएपछि संयोजक शाहले जेन्जी परिषद् निर्माणको कार्य अन्तिम चरणमा रहेको र पुराना सहमतिहरू कार्यान्वयनकै क्रममा रहेको जानकारी दिनुभएको हो ।

संयोजक शाहका अनुसार यो विशेष छलफल संविधान संशोधनका लागि सुझाव लिने फरक उद्देश्यका साथ आयोजना गरिएको हो, त्यसैले यसलाई अन्य विषयसँग नमिसाउन उहाँले आग्रह गर्नुभएको छ । बोल्नका लागि समय कम दिइएको भन्ने जस्ता भ्रमपूर्ण प्रचारहरूको खण्डन गर्दै कार्यदलले मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी पर्याप्त व्यवस्था मिलाएको जनाएको छ ।

कार्यदलले कसैको पनि आवाजलाई नजरअन्दाज नगरिने विश्वास दिलाउँदै निमन्त्रित सबै युवाहरूलाई आफ्नो अधिकार र दायित्व सम्झेर सहभागी हुन अनुरोध गरेको छ ।

गत चैत २५ गतेदेखि सुरु भएको यस परामर्श प्रक्रिया अन्तर्गत कार्यदलले हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार विज्ञहरूसँग छलफल सम्पन्न गरिसकेको छ । शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता गम्भीर विषयमा सबैको साझा धारणा बनाउन सरकारको १०० बुँदे कार्यसूची अनुसार यो प्रक्रिया अघि बढाइएको हो ।

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित यस कार्यदलले नयाँ संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न युवा पुस्ताको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा विशेष जोड दिएको छ ।


सम्बन्धित समाचार