Logo

१ जेठ,वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पसमा बिहीबार भएको दुर्व्यवहार तथा कुटाकुटको घटनापछि क्याम्पसको शैक्षिक वातावरण प्रभावित बनेको छ। घटनापछि क्याम्पस प्रशासनले शुक्रबार एक दिनका लागि सम्पूर्ण तहको पठन–पाठन स्थगित गरेको जनाएको छ।

क्याम्पस प्रशासन शाखाले बिहीबार साँझ सूचना जारी गर्दै “विशेष कारणवश” पठन–पाठन बन्द गरिएको उल्लेख गरे पनि यसको मुख्य कारण क्याम्पस परिसरमै उत्पन्न भएको विवाद र तनावपूर्ण अवस्था रहेको बताइएको छ।

लामो समयदेखि आन्तरिक विवाद चल्दै आएको क्याम्पसमा बिहीबार शिक्षक तथा पदाधिकारीबीचको विवाद चर्किँदै दुर्व्यवहार र हातहालाहालको अवस्थासम्म पुगेको थियो। क्याम्पस परिसरमै शिक्षकहरूबीच लछारपछार भएको तथा क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दलिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको व्यापक आलोचना भइरहेको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान अघि बढाएको छ। क्याम्पस प्रमुखमाथि दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए।

शिक्षण संस्थाभित्र शिक्षकहरूबीच नै भएको घटनाले शैक्षिक क्षेत्रप्रति गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ। सामुदायिक क्याम्पसका रूपमा स्थापित संस्थामा सीमित व्यक्तिहरूको प्रभाव बढ्दै गएको तथा निजी स्वार्थ हाबी भएको आरोप लाग्दै आए पनि सम्बन्धित निकाय र जनप्रतिनिधिहरू मौन रहेको भन्दै आलोचना भइरहेको छ।

घटनापछि क्याम्पसको शैक्षिक, प्रशासनिक तथा सामाजिक विश्वसनीयतामाथि समेत प्रश्न उठ्न थालेको छ।


सम्बन्धित समाचार