Logo

२२ असोज, वीरगञ्ज ।
नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ।

भुसालले उम्मेदवारी दिएमा उनको स्वतन्त्र उम्मेदवारीलाई सहयोग गर्ने गरी सत्तारुढ गठबन्धनले आन्तरिक तयारी गरेको छ। ‘उहाँलाई एमालेले होइन, व्यक्ति केपी ओलीले टिकट नपत्याएको हो। ओलीले प्रालीका रुपमा पार्टी चलाएपछि बाध्य भएर स्वतन्त्र हुन विद्रोह गर्नुभएको हो,’ उनी निकट स्रोतले भन्यो, ‘उहाँलाई सत्तारुढ गठबन्धनका केन्द्र र जिल्लास्तरका नेताहरुले सहयोगको प्रस्ताव राख्नुभएको छ। सम्भवत स्वतन्त्र उम्मेदवारी दिनेगरी आन्तरिक तयारी गरिरहनुभएको छ।’

रुपन्देही–१ मा एमालेले पार्टी सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रुपन्देही–३ बाट सिफारिस भएका भुसालले १ बाट उम्मेदवार बनाउन माग गर्दै आएका थिए।

तर, त्यहाँ सचिव विश्वकर्मालाई टिकट दिएर भुसाल निर्वाचित क्षेत्र राप्रपाका दिपक बोहोरालाई दिनेगरी तालमेल भएपछि उनले अध्यक्ष ओलीले नियोजित रुपमै आफ्नो राजनीतिक जीवनविरुद्ध षड्यन्त्र गरेको भन्दै निकटस्थहरुसँग असन्तुष्टि पोख्दै आएका थिए।
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् ।

आजै पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेका थिए ।

भूसालले सामाजिक सन्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

उनले थप लेखेका छन्, ‘नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु १ सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।’


सम्बन्धित समाचार