Logo

२८ असोज, वीरगञ्ज ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ उलंघन भएको छ कि छैन भनेर अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई अनुरोध गरेको छ ।

शुक्रवार आयोगको बैठकले सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकोले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अनुगमन गर्न काउन्सिललाई अनुरोध गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रता तथा आमसंचार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए नभएको विषयमा अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।

प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको अनुकूल हुने गरी प्रत्येक सञ्चारमाध्यमले आफ्ना लागि आचारसंहिता बनाई सोको स्वनियमन र स्वमूल्यांकन गर्ने छन् भन्ने व्यवस्था बमोजिम सञ्चारमाध्यम तथा सञ्चारकर्मीले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमन सम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमहरुलाई आव्हान गर्ने र सोको लागि आवश्यक व्यवस्था मिलाउन प्रेस काउन्सिल नेपाललाई आग्रह गरिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयन गर्न सोही ऐनको दफा २३ बमोजिम आयोगले विज्ञहरु सहितको संयन्त्र निर्माण गरेको र सो संयन्त्रले आन्तरिक प्रयोजनका लागि संचारमाध्यममा प्रकाशित तथा सामाजिक संजालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति जाँचबुझ तथा अनुगमन गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा आयोगले प्रचलित कानून बमोजिम कार्वाही गर्न प्रेस काउन्सिल, नेपाललाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले बताए ।


सम्बन्धित समाचार