Logo

३१ असोज, वीरगञ्ज ।
प्रहरीले वीरगञ्जबाट गहुँ लोड गरेको ट्याक्टर सहित एक जनालाई पक्राउ गरेको छ । बारा विश्रामपुर गाउँपालिका– ३ बस्ने २३ वर्षीय रिकेश पटेल पक्राउ गरेका हुन् ।

बिल बिजक नभएको गहुँ बोकेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले असोज २७ गते वडा नं १६ नगवा स्थित सडकखण्डबाट गहुँ लोड गरिएको ट्याक्टर सहित उनलाई पक्राउ गरेको थियो ।
पटेलले चलाएर ल्याउँदै गरेको ना ३ त ५७६९ नम्बरको ट्याक्टरबाट १३० बोरा गहुँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बाराको परवानीपुर तर्फ जाँदै गरेको ट्याक्टर चालक पटेलले अनलाईन भिसिटिएस बिल देखाउन नसकेको प्रहरी नायव उपरिक्षक गिरीको भनाई छ । बरामद गरिएको गहुँको मूल्य ३ लाख ४३ हजार २ सय र ट्याक्टरको मुल्य ५ लाख कायम गरिएको छ ।

बरामद गरिएको गहुँ सहितको ट्याक्टर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले पर्साको विन्दवासिनीबाट भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ । विन्दवासिनी गाउँपालिका वडा नं ४ बाट ३ लाख ६२ हजार ५ रुपैयाँको सामान बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले चामल, आलु, तेल तथा मसलाहरू बरामद गरेको थियो । अवैध रूपमा भन्सार छली ५ वटा मोटर साईकलमा ओसार पसार गर्दै गरेको अवस्थामा असोज ३० गते बिहान उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ओसार पसारमा संलग्न रहेका चार थान मोटरसाईकल समेत बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार