Logo

१० जेठ,काठमाडौं । नेपाल–भारत सीमामा पर्ने महाकाली नदी किनारमा भइरहेको अवैध उत्खननबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरी परेपछि सम्बन्धित निकायहरूले घटनाप्रति चासो देखाएका छन्।

जिल्ला प्रशासन कार्यालय बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले उजुरी परिसकेको पुष्टि गर्दै हाल उत्खनन कार्य रोकिएको र कानुनी प्रक्रिया अघि बढाइने बताए।

‘यस विषयमा अख्तियारमा उजुरी परिसकेको छ, अहिले उत्खननको काम रोकिएको छ। अब आवश्यक कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने।

उजुरीपछि जिल्ला प्रशासन कार्यालयले पञ्चेश्वर गाउँपालिकासँग वास्तविक विवरण माग गर्दै पत्राचार गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह भण्डारीले अख्तियारको पत्र प्राप्त भएको र आवश्यक प्रक्रिया अघि बढाइने बताए।

उनका अनुसार अनुगमन टोलीले समेत स्थलगत निरीक्षण गरिसकेको छ। ‘प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिको टोलीले अनुगमन गरेको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने।

प्रशासकीय अधिकृत भण्डारीले निर्माण कम्पनीलाई गाउँपालिकाबाट उत्खनन अनुमति नदिइएको स्पष्ट गर्दै अवैध रूपमा नदी उत्खनन भएको देखिएको बताए।

गत माघदेखि पञ्चेश्वर गाउँपालिका–४ जङ्गलतडा क्षेत्रमा कन्काई कुमार केएस जेभीले मेलौली–पञ्चेश्वर सडक स्तरोन्नतिका लागि ठेक्का पाएपछि महाकाली नदी किनारमै क्रसर सञ्चालन गर्दै ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्दै आएको पाइएको छ।

क्रसर मापदण्ड–२०७७ अनुसार सिमाना नदीबाट कम्तीमा एक किलोमिटर टाढा मात्र वातावरणीय प्रभाव मूल्यांकन (EIA) सहित क्रसर सञ्चालन गर्न पाइन्छ। तर उक्त कम्पनीले आवश्यक प्रक्रिया पूरा नगरी नदी किनारमै उत्खनन र क्रसर सञ्चालन गरेको आरोप छ।

घटनाबारे सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले थप चासो देखाएका छन्। जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीसहितको टोलीले गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ।

यद्यपि, छलफलबाट अहिलेसम्म ठोस कानुनी निर्णय भने हुन सकेको छैन। प्रशासनले अब विस्तृत छानबिन र कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।


सम्बन्धित समाचार