१९ जेठ, (माडी) चितवन । चितवनको माडी नगरपालिकाको संरक्षकत्वमा सञ्चालित मनमोहन बालग्राममा आश्रित अनाथ तथा असहाय बालबालिकाको नाममा भइरहेको गम्भीर आर्थिक शोषण र मानव संवेदनाहीन “डलर खेती” को भयावह रूप बाहिर आएको छ।
बालग्राममा आश्रित बालबालिकाहरूका लागि दुई छाक टार्ने र खाने नुनसमेत नभएको दयनीय अवस्था छ, तर “हेल्पिङ सोसाइटी नेपाल” का अध्यक्ष टिकाराम आचार्यले भने तिनै बालबालिकाको कारुणिक तस्बिरहरू विदेशी दाताहरूका अगाडि बेचेर डलरको ओइरो लगाउने गरेको सनसनीपूर्ण तथ्य खुलेको छ।
“रेसखवर” मा २०८३ साल जेठ ९ गते यससम्बन्धी पहिलोपटक खोजमूलक समाचार प्रकाशन भएलगत्तै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालग्रामको स्थलगत अनुगमन गरी संस्थाका सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिएर छानबिन अघि बढाउनुभएको छ।
माडीका स्थानीयवासीका अनुसार मनमोहन बालग्रामका बालबालिकाहरू आधारभूत खाद्यान्न र खाने नुनसमेत नपाएर छट्पटिरहँदा, तिनको संरक्षण गर्ने जिम्मेवारी पाएका अध्यक्ष आचार्यले तिनै विवश बालबालिकाको तस्बिरलाई अन्तर्राष्ट्रिय बजारमा आर्थिक लाभको हतियार बनाएका थिए। बालग्रामको हिसाबकिताब र जिम्मेवारी विधिवत् रूपमा हस्तान्तरण नगरीकनै अमेरिका पुगेका तत्कालीन कार्यसञ्चालन समितिका अध्यक्ष आचार्यले अन्ततः बालबालिकाको तस्बिर देखाएर विदेशी सहायता संकलन गर्ने गरेको कुरा आफैँले स्वीकार गरेका छन्।
अमेरिकाबाटै रेसखवरसँग कुराकानी गर्दै आचार्यले बालबालिकाको सन्दर्भमा कानुनी व्यवस्था थाहा नपाउँदा आफूबाट गल्ती भएको स्वीकारे। उनले हेल्पिङ सोसाइटी नेपालको खातामा विदेशी सहयोग रकम आएको स्विकार्दै दाताहरूलाई नियमित रूपमा बालबालिकाको तस्बिर नपठाए अर्को पटक सहयोग नआउने भएकाले तस्बिर पठाउने गरिएको कुरा स्वीकार गरे।
बालबालिकालाई नुनसमेत नदिएर भोकभोकै राख्ने तर तिनकै तस्बिर संसारभरि बेचेर डलर कमाउने यो अमानवीय धन्दा प्रमाणित भएपछि अब स्थानीय प्रशासनले उनीमाथि के(कस्तो कानुनी कारबाही गर्छ भन्ने कुरा यतिवेला चितवनमा गम्भीर चासो र जनआक्रोशको विषय बनेको छ।
वैदेशिक सहयोग व्यक्तिगत खातामा, पदाधिकारी नै बेखबर
प्राप्त विवरणअनुसार गत वर्ष हेल्पिङ सोसाइटी नेपालको नाममा विदेशी दाताहरूबाट करिब ८ लाख ३० हजार रुपैयाँ सहयोग प्राप्त भएको देखिन्छ। तर उक्त रकममध्ये कति रकम मनमोहन बालग्रामका बालबालिकाको हितमा खर्च भयो भन्ने स्पष्ट प्रमाण सार्वजनिक गरिएको छैन।
रेसखवरले मनमोहन बालग्रामको विषयमा सोधखोज गर्न लागेपछि वैशाख ३० गते १ लाख रुपैयाँ र समाचार सार्वजनिक भएपछि जेठ १३ गते थप १ लाख रुपैयाँ हेल्पिङ सोसाइटी नेपालका कोषाध्यक्ष मोतिलाल अधिकारीको नाममा कृषि विकास बैंक, माडी शाखास्थित खातामा रकम जम्मा गरिएको थियो।
वैदेशिक सहयोगकै रूपमा आएको रकम आचार्यले आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको कोषाध्यक्ष अधिकारीले स्वीकार गरेका छन्। अमेरिकामा रहेका आचार्यले मिडियाबाट सोधखोज भइरहेकाले तत्कालका लागि २ लाख रुपैयाँ पठाएको र बाँकी पछि हिसाब गर्ने बताएको अधिकारीले जानकारी दिए।
कोषाध्यक्ष अधिकारीका अनुसार, बच्चाले खान पाएनन् भनेर बाहिरबाट सहयोग ल्याइने र आफूलाई खाली चेकमा हस्ताक्षर मात्र गर्न लगाइने गरेको तर रकम कहाँ र कसरी जान्थ्यो भन्ने विषयमा आफूलाई कुनै जानकारी हुँदैनथ्यो।
उता हेल्पिङ सोसाइटी नेपालका सचिव नगेन्द्र पौडेलले पनि आर्थिक कारोबारबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। सचिव पौडेलका अनुसार, बाहिरबाट रकम पठाउने व्यक्तिले बैंकमा रकम अड्किएको भन्दै सहयोग मागेकाले केही प्रक्रियागत काममा मात्र सहयोग गरिएको थियो। त्यसपछि उक्त रकमको प्रयोग कहाँ कसरी भयो र त्यसको व्यवस्थापन कसले गर्यो भन्ने विषयमा आफू पूर्ण रूपमा अनभिज्ञ रहेको उनले स्पष्ट पारे।
यदि संस्थाको नाम वा आफ्नो पद दुरुपयोग गरेर कुनै पनि गैरकानुनी वा गलत कार्य गरिएको भए त्यस्ता व्यक्तिमाथि कडा कानुनी कारबाही हुनुपर्ने धारणा सचिव पौडेलले व्यक्त गरे। यसरी संस्थाका मुख्य पदाधिकारी र जिम्मेवार सदस्यहरू नै आर्थिक कारोबारबाट बेखबर हुनु र बालबालिकाको तस्बिर देखाएर संकलन गरिएको लाखौँ रुपैयाँ बालग्रामको आधिकारिक खातामा नदेखिनुले आर्थिक अपचलन गरिएको हो की भन्ने शंका उत्पन्न भएको छ ।
नक्कली खर्च शीर्षक र बालश्रमको शोषण
अध्यक्ष आचार्यले सार्वजनिक गरेको खर्च विवरणमा अनेकौँ नक्कली र कागजी शीर्षकहरू खडा गरिएको पाइएको छ। सादा कागजमा हातले केरमेट गरी पठाइएको सो विवरणमा समाज कल्याण परिषद्को नवीकरणका क्रममा कर्मचारीलाई ४० हजार रुपैयाँ घुस दिएको अपुष्ट र गम्भीर दाबी गरिएको छ, जसको कुनै प्रमाण छैन।
त्यस्तै, बालबालिकाको खानाका लागि धान खरिद शीर्षकमा ३० हजार रुपैयाँ खर्च देखाइएको छ, जबकि स्थानीय बासिन्दाका अनुसार बालग्रामकै बालबालिकालाई खेतीबारीको काममा लगाई आचार्यको निजी खेतमा धान उत्पादन गर्न लगाइन्थ्यो । आचार्यले २७ क्विन्टल धान बालबालिकाका लागि राखिएको दाबी गरिए पनि दाताको सहयोगले नै खाद्यान्न व्यवस्थापन हुँदै आएको थियो।
विवरणमा बालबालिकाको घर जाने भाडा, उपचार, स्टेशनरी, कपडा तथा भान्से तलबलगायत शीर्षकमा वार्षिक ३ लाख ६० हजार रुपैयाँ खर्च भएको भनिए पनि त्यसको प्रमाणित बिल, भौचर वा लेखापरीक्षण (अडिट) प्रतिवेदन केही पनि छैन। यसका साथै ३ स्थानका गरिब बस्तीमा कपडा वितरणका लागि ७५ हजार रुपैयाँ, २ वटा गाईको घाँस-परालका लागि २० हजार रुपैयाँ र प्रपोजल लेखनका लागि २० हजार रुपैयाँ खर्च देखाइए पनि यी सबै शीर्षकहरू प्रमाणविहीन र मनगढन्ते रहेको स्थानीयको आरोप छ।

सम्बन्धित निकायको भनाइ र कानुनी प्रक्रिया
समाचार सार्वजनिक भएलगत्तै जेठ १० गते चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मनमोहन बालग्रामको स्थलगत अनुगमन गरी संस्थाका सम्पूर्ण वित्तीय र प्रशासनिक कागजातहरू नियन्त्रणमा लिनुभएको छ। प्रजिअ अर्यालका अनुसार, बालबालिकालाई देखाएर कुन-कुन देश र अन्तर्राष्ट्रिय दाताबाट कति रकम आएको छ र त्यो कहाँ खर्च गरियो भन्ने आधिकारिक विवरण उपलब्ध गराउन समाज कल्याण परिषद्लाई औपचारिक पत्राचार गरिएको छ।
परिषद्बाट पत्रको जवाफ प्राप्त भएलगत्तै ठगी, गैरकानुनी वित्तीय गतिविधि र दुरुपयोगमा संलग्नहरूमाथि कडा कानुनी कारबाही अगाडि बढाइने उहाँले स्पष्ट पार्नुभयो। यसमा अनुसन्धान भइरहेको छ, जो दोषी देखिन्छ उसलाई कार्वाही हुन्छ, प्रजिअ अर्यालले भने ।
यता माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले यो संस्था जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा दर्ता भएकाले स्थानीय प्रशासनले यसको सूक्ष्म अनुसन्धान गरिरहेको बताउनुभयो। अधिकृत भुसालले बालबालिकाको फोटो, दयनीय अवस्था वा समस्या देखाएर डलर खेती गर्ने र कानुनविपरीत गतिविधि गर्ने जोसुकै भए पनि प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनुपर्ने धारणा रख्नुभएको छ।
अनाथ बालबालिकालाई नुनसमेत नदिएर तिनको आँसु र तस्बिर अन्तर्राष्ट्रिय बजारमा बेच्ने यस्ता तत्वहरूमाथि प्रशासनले चाल्ने आगामी कदमलाई माडीवासीले नजिकबाट नियालिरहेका छन्।
यो पनि पढनुहोस :-




















