१९ जेठ, चितवन । भरतपुर–१० स्थित चितवन मेडिकल कलेज (सीएमसी) मा मेडिकल अफिसरका रूपमा कार्यरत डाक्टर पप्पुकुमार यादव अवैध क्रिप्टोकरेन्सी कारोबार तथा डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले उहाँलाई ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइलसहित नियन्त्रणमा लिएको जनाएको छ।
धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका २९ वर्षीय डा. यादव भरतपुर–१० चित्रसेन टोलस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। प्रहरीले उहाँलाई यही जेठ १५ गते उहाँ बस्दै आएको कोठाबाट पक्राउ गरेको हो। प्राप्त सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा उहाँले गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार सञ्चालन गरिरहेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
डिजिटल प्रमाण फेला, सञ्जालको खोजी तीव्र
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवका अनुसार प्रारम्भिक अनुसन्धानमा डा. यादवले क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित गतिविधि सञ्चालन गरेको देखिएको छ। पक्राउ परेका यादवको मोबाइल तथा अन्य विद्युतीय उपकरणहरूको परीक्षणका क्रममा अवैध आर्थिक कारोबारसँग सम्बन्धित डिजिटल प्रमाणहरू फेला परेका छन्।
अभौतिक मुद्रा कसुरसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कानुनी कारबाही तथा अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी यादवले जानकारी दिनुभयो। प्रहरीको प्रारम्भिक अनुसन्धानले डिजिटल माध्यम प्रयोग गरी विभिन्न व्यक्तिहरूसँग आर्थिक कारोबार भएको देखाएको छ।
यस धन्दाबाट कति व्यक्ति प्रभावित भए, कति रकम संकलन भयो र ठगीको वास्तविक दायरा कति हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस घटनासँग सम्बन्धित सम्भावित नेटवर्क तथा अन्य संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यसमेत तीव्र रूपमा अघि बढाएको छ।
अस्पताल प्रशासनद्वारा पुष्टि
यस विषयमा चितवन मेडिकल कलेज (सीएमसी) को प्रशासन शाखामा कार्यरत पारस अधिकारीसँग सम्पर्क गर्दा पक्राउ परेका डा. यादव अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत रहेको पुष्टि गर्नुभयो। तर उहाँले डा. यादव अस्पतालमा कार्यरत रहेको यकिन अवधिबारे भने आफूलाई जानकारी नभएको बताउनुभयो।
नेपालमा राष्ट्र बैंकको अनुमति बिना क्रिप्टोकरेन्सीको खरिद–बिक्री, सञ्चय तथा कारोबार पूर्ण रूपमा गैरकानुनी मानिन्छ। पछिल्ला वर्षहरूमा डिजिटल माध्यममार्फत हुने आर्थिक अपराधका घटनाहरू बढ्दै गएपछि प्रहरी तथा सम्बन्धित निकायले यस्ता गतिविधिमाथि निगरानी बढाउँदै आएका छन्।
चितवन जस्तो सुगम क्षेत्रमा सेवारत एक चिकित्सक नै यस्तो गम्भीर डिजिटल ठगी र अवैध वित्तीय अभियोगमा पक्राउ परेपछि यस घटनाले यतिबेला जिल्लाभर व्यापक चासो र चर्चा उत्पन्न गराएको छ।




















