Logo

१ कार्तिक, काठमाडौ ।
नेकपा माओवादी केन्द्रले आफ्ना पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई स्वतन्त्र रुपमा दिएको उम्मेदवारी निष्क्रिय गर्न थप चार दिनको समयसीमा तोकेको छ ।

माओवादी केन्द्रले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ गते सम्म दिइएको समयसीमा थप गरेर २०७९ कात्तिक ४ गतेसम्मको समय दिएको हो ।

माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै निष्कासन गरिसकेको छ । माओवादीको निर्णयअनुसार अब बागीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेमा कारबाही फिर्ता हुने मौका दिने भएको पार्टीका मुख्यसचिव सचिव श्रीराम ढकालले जानकारी दिए ।

‘आउदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबीच सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलबीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा पार्टी कार्यकर्ताद्वारा बागी उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारहरु, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासनको निर्णय माओवादी केन्द्रले यसअघि नै गरिसकेको छ ।

पार्टीले तोकेको पछिल्लो समयभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराई गठबन्धनका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न पार्टीका मुख्यसचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित समाचार