Logo

१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई मंगलवार स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता जारी भइसकेको र वर्तमान सरकार निर्वाचन घोषणा पछि स्वतः कामचलाउको रुपमा रहेको अवस्थामा दूरगामी प्रकृतिका निर्णय गरेको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको भन्दै आयोगले सरकारलाई स्पष्टीकरण सोधेको हो ।

सरकारले एकपछि अर्को दीर्घकालीन महत्वको निर्णय गर्‍यो अनि कतिपय निर्णय गरेर समेत सार्वजनीक नगरिएको भन्ने आयोगमा विभिन्न माध्यमले सूचना आएपछि स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ ।

नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति पत्र दिएको, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिएको, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका महत्वपूर्ण निर्णय निर्णय गरेको सुचना आयोगलाई प्राप्त भएकोले सरकारको नाउँमा स्पष्टीकरण सोध्ने निर्णय भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्नेगरी अरु निर्णय समेत भएको भन्ने सूचना आएका छन् त्यसमा सरकारको जवाफ आएपछि थप निर्णय हुने जनाएको छ ।

निर्वाचन आयोगले यसअघि नै निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।


सम्बन्धित समाचार