Logo

१२ कात्तिक, काठमाडौं । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा .तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनी लाभको पद नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, कार्की नेपाल मेडिकल काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी पदमै कायम रहेको अवस्थामा उम्मेद्वारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।

चार वर्षे कार्यकालका लागि उनी मेडिकल काउन्सिलमा गत भदौमा निर्वाचित भएकी थिइन् । काउन्सिलमा नेपाल सरकारले अनुदान दिने, स्वास्थ्य मन्त्रालयले समेत विभिन्न कार्यक्रममा बजेट उपलब्ध गराउने भएकाले त्यहाँका पदाधिकारी सार्वजनिक पदमा रहेको हुने भनी निर्वाचन आयोगले निष्कर्ष निकालेको हो ।

उम्मेदवारमाथि दावी विरोध गर्ने समय भन्दा पछि कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उक्त उजुरीमाथि उम्मेदवार कार्कीको स्पष्टीकरणसमेत लिएर निर्वाचन आयोगमा पठाएको थियो । आयोगले काउन्सिल सदस्य भएवापत तोसिमाले २०७९ वैशाखदेखि भदौसम्म १ लाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको उल्लेख गरेको छ ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकोले निजको उम्मेदवारी खारेज गरी पाउँ भनी मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको र सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानूनी व्यवस्था बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजातहरू पठाएको थियो ।

नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को ख (६) मा पारिश्रमिक भन्नाले तलब भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेत सम्झनु पर्छ भन्ने व्यवस्था समेतका आधारमा भत्ता पारिश्रमिक भित्रै पर्ने देखिएकोले निज डा.कार्की हाल बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक पद नभई सरकारी कोषबाट भत्ता, भ्रमण लगायतका आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेको अयोगको निर्णयमा उल्लेख गरिएकाे छ ।

उम्मेदवार मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको (घ) मा कुनै संघीय कानूनले अयोग्य नभएको, (च) मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछाप समेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिनु खानु गरिरहेको देखिएकेले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन आएन अयोगको निर्णयमा भनिएको छ ।


सम्बन्धित समाचार