Logo

१२ कार्तिक, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने ५ जना केन्द्रीय नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । शनिवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेका हुन् ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा नेपाल कम्युनिष्ट पार्टीसहितको गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पार्टी केन्द्रीय समिति तथा केन्द्रीय निकायका सदस्यहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित हुनेमा धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, सप्तरी १ बाट उम्मेदवारी दिएका अशोक कुमार मण्डल, पर्सा ४ (क) बाट उम्मेदवारी दिएका वीरेन्द्र यादव र रोल्पा १ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन मगर रहेका छन् । उनीहरू सबै केन्द्रीय समिति सदस्य हुन् । यस्तै पार्टीबाट निष्कासित हुनेमा कालिकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मेयर तथा पार्टीको केन्द्रीय लेखा परीक्षण आयोग सदस्य काशिचन्द्र बराल समेत रहेका छन् ।

यस्तै माओवादीले पार्टीका प्रदेश कमिटी सदस्यले गठबन्धनका उम्मेदावरविरुद्ध उम्मेदवारी दिएमा सम्बन्धित प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गर्नुपर्ने जनाएको छ । यस्तै जिल्ला तथा स्थानीय स्तरका नेताहरुले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएको भए सम्बन्धित जिल्लाले कारबाही गनुपर्ने नेकपा माओवादी (केन्द्र)ले जनाएको छ ।

 


सम्बन्धित समाचार