Logo

१६ मंसिर, वीरगञ्ज । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्सामा पूर्व मन्त्री करिमा वेगम सहित ११८ जना उमेदवारको जमानत जफत भएको छ ।

दुई महिला सहित ११८ जना उम्मेदवारको जमानत (धरौटी रकम) जफत भएको हाे । प्रतिनिधि सभा सदस्यतर्फ ४२ र प्रदेश सभा सदस्यतर्फ ७६ जनाको जमानत जफत भएको पर्सा स्थित निर्वाचन कार्यालयले जनाएको छ ।

जमानत जोगाउन उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कूल सदर मतको कम्तिमा पनि १० प्रतिशत पाउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुन्छ ।

पर्साका ४ वटै क्षेत्रमा गरी प्रतिनिधिसभा सदस्य तर्फ ५३ जना उम्मेदवार रहेकोमा ४२ जना र आठ वटा प्रदेशसभा सदस्यतर्फ १०८ जना उम्मेदवार रहेकोमा ७६ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी रन्जिता झाले जानकारी दिइन् ।

प्रतिनिधिसभातर्फ पर्सा क्षेत्र नम्बर १ बाट २१ जनाले उम्मेदवारी दिएकोमा लोसपाका उम्मेदवार लक्ष्मणलाल कर्णसहित १८ जना, क्षेत्र नम्बर २ बाट ११ जनाले उम्मेदवारी दिएकोमा ८ जना, क्षेत्र नम्बर ३ बाट ११ जनाको उम्मेदवारी परेकोमा ८ जना र क्षेत्र नम्बर ४ बाट १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी प्रदेशसभातर्फ पर्सा १ (क) बाट १८ जनाले उम्मेदवारी दिएकोमा १३ जनाको, १ को (ख) बाट २० जनाले उम्मेदवारी दिएकोमा १६ जनाको जमानत जफत भएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को (क) मा ९ जनाले उम्मेदवारी दिएकोमा ७ जना, २ को २ मा १४ जनाले उम्मेदवारी दिएकोमा संघीय सरकारको पूर्व राज्यमन्त्री एवं निवर्तमान प्रदेशसभा सदस्य करिमा बेगम सहित १० जनाको धरौटी जफत भएको छ ।

क्षेत्र नम्बर ३ को १ मा १२ जनाले उम्मेदवारी दिएकोमा ६ जनाको, ३ को २ मा १४ जनाले उम्मेदवारी दिएकोमा १० जनाको, क्षेत्र नम्बर ४ को १ मा १० जनाले उम्मेदवारी दिएकोमा ७ जना र ४ को २ मा ११ जनाले उम्मेदवारी दिएकोमा माओवादी केन्द्रको नेतृ शेख चांद तारा सहित ९ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसंख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो ।


सम्बन्धित समाचार