Logo

१२ पुष, वीरगञ्ज । भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को हराएको गोली, म्यागजिनसहितको स्वचालित हतियार बारास्थित नेपाल–भारत सीमा क्षेत्रबाट बरामद भएको छ ।

भारतको बिहारस्थित घोडासहन थाना क्षेत्र अन्तर्गत अठमोहान क्याम्पका एसएसबीको सोमबार साँझ हराएको हतियार बारास्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गोलागन्जको सूचनाको आधारमा भारतीय क्षेत्रबाट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरले बताए ।

एसएसबी अठमोहानका एकजना जवान गस्तीको क्रममा सोमबार साँझ ७ बजे सतुवाही नाका नजिकै एउटा झोलामा एसएमजी हतियार भुइँमा राखेर पिसाब फेर्ने क्रममा उक्त हतियार हराएको थियो ।

हतियार हराएपछि भारतीय सीमा सुरक्षा बल एसएसबी, ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गोलागन्जको संयुक्त टोलीले रातभरि सीमावर्ती क्षेत्रमा हतियारको खोजी गरेको थियो ।

मंगलबार बिहान सशस्त्र प्रहरीले पाएको सूचनाको आधारमा एसएसबीले घोडासहन थानाक्षेत्र अन्तर्गत कोईरगांवा गाउँछेउ खेतमा फालेको झोलाभित्रबाट एसएमजी १ थान, ३५ राउन्ड गोलीसहितको म्यागजिन बरामद गरेको डीआईजी ठाडा मगरले जानकारी दिए ।

हतियार बरामद भएपछि एसएसबीले नेपाली सुरक्षा निकाय तथा सशस्त्र प्रहरी बलप्रति आभार प्रकट गरेको उनले बताए ।


सम्बन्धित समाचार
भर्खरै