१९ चैत, काठमाडौं । भरतपुरस्थित एक अस्पतालमा कार्यरत डाक्टर नै अवैध क्रिप्टोकरेन्सीको कारोबार र डिजिटल ठगीमा संलग्न रहेको फेला परेको छ ।
२९ वर्षीय डा. पप्पुकुमार यादवलाई ठूलो परिमाणको अमेरिकी डलर र डिजिटल उपकरणसहित प्रहरीले चितवनबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषा घर भई हाल भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा डेरा गरी बस्दै आएका यादवको कोठाबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डा. यादवले भरतपुरमा बसेर ‘वाइनान्स’ र ‘बाइविट’ जस्ता नेपालमा प्रतिबन्धित एप्लिकेसनमार्फत क्रिप्टोकरेन्सीको अवैध सञ्चय तथा कारोबार गर्दै आएको खुलेको छ । डिजिटल माध्यमको दुरुपयोग गरी उनले ठगी धन्दा नै चलाइरहेको पाइएको प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।
अस्पतालमा बिरामीको उपचारमा खटिनुपर्ने चिकित्सक नै अवैध आर्थिक गतिविधिमा संलग्न भेटिनुलाई यस क्षेत्रमा गम्भीरताका साथ लिइएको छ । प्रहरीले उनको साथबाट बरामद भएका विद्युतीय उपकरणहरू र मोबाइलको गहन प्राविधिक अनुसन्धान गरिरहेको छ । डा. यादवले हालसम्म कति व्यक्तिलाई ठगी गरेका छन् र यो सञ्जालमा अरू को–को संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




















