Logo

काठमाडौं । नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ ।
आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने । शुक्रबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट बसेको शनिबार एमालेले सचिवालयको बैठक बोलाएको थियो । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ ।

एमालेले राष्ट्रपतिको चुनावमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने भएको छ । गुरुङले भन्नुभयो, ‘कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट हामीलाई सहयोगको आश भएन, बाँकी सबै दलहरूसँग राष्ट्रपतिको चुनावसम्म हामी छलफल र संवाद गर्दै सहकार्यको वातावरण बनाउँछौँ ।’


सम्बन्धित समाचार