Logo

१९ फागुन,वीरगञ्ज । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज देशभरका त्रिवि आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुमा दल दर्ता हुदैछ । दल दर्तासँगै क्याम्पसहरुमा निर्वाचनको चहलपहल बढीरहेको छ ।

यता नेपालकै सबैभन्दा जेठो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसमा पनि बिहानैदेखि दल दर्ता भएको छ ।निर्वाचन अधिकृत रोशन लामिछानेका अनुसार ३५वटा दलले निर्वाचनका लागि दल दर्ता गरेका छन् । मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राप्रपा, लोसपा लगायत स्वतन्त्र रुपमा पनि स्ववियु निर्वाचनका लागि दल दर्ता गराएका छन् ।कतिपयले उम्मेदवारको टुंगो लगाएर दल दर्ता गराएका छन् भने, कतिपयले उम्मेदवार टुंगो पछि लगाउनेगरी दल दर्ता गराएका छन् ।

 

ठाकुरराम बहुमुखी क्याम्पस इकाईमा नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई समूहले दल दर्ता गराएका छन् ।संस्थापन पक्ष पञ्चा सिंह नेतृत्वको समूहले एउटा र संस्थापन इतरका पवन कार्की समूहले गरी दुईवटा दल दर्ता गराएका हुन् । अखिल क्रान्तिकारीको केन्द्रदेखि नै समानान्तर कमिटि चल्दै आएको छ । त्यसको प्रभाव स्ववियु निर्वाचनमा पनि परेको छ ।

त्यस्तै राप्रपा, जनमत र लोसपाले परिवर्तन विद्यार्थी समूह बनाएर स्ववियु निर्वाचन लड्ने निर्णय गरेको राप्रपाका नेता अनिल कुश्वासाहले जानकारी दिनुभयो । नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले पनि दल दर्ता गराएका छन् । पूर्व नेविसंघका नेता सुधीर पटेल समूहले पनि स्वतन्त्र रुप दल दर्ता गराएका छन् ।

यसैगरी ठाकुरराम बहुमुखी क्याम्स वीरगञ्जको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा नेपाल विद्यार्थी संघलाई जिताउन नेपाली कांग्रेस पर्साले समन्वय समिति गठन गरेको छ ।कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जिल्ला सहसचिव नविन कुमार सिंहको संयोजकत्वमा उक्त समिति गठन गरेका हुन् ।

सभापति क्षेत्रीले समन्वय समितिको सदस्यमा नेपाल तरुण दल पर्साका अध्यक्ष बिकास तिवारी, हरिन्द्र यादव, सुरेन्द्र लामिछाने, रामनिवास यादव, नेविसंघ इकाई अध्यक्ष मनोज कुमार साह, नेविसंघ पर्साका अध्यक्ष रमेश यादवलाई मनोयन गरेका छन् ।

नेविसंघलाई विजयी बनाउन आवश्यक सबै कार्य सम्पादनको लागि सिंहको संयोजकत्वमा गठित समितिलाई जिम्मेवारी समेत दिइएको छ ।त्रिभुवन विश्व बिधालय अन्तर्गत रहेको ठाराब क्याम्पसमा स्ववियूको निर्वाचन चैत ५ गते घोषणा भए बामोजिम नेपाली कांग्रेस अन्तर्गत रहेको भातृ संगठन नेविसंघलाई विजयी बनाउन कांग्रेस पर्साले पार्टी निकटका विभिन्न संगठनका नेताहरुलाई जिम्मेवारी दिएको हो ।

(सूचीसहित)

 


सम्बन्धित समाचार