Logo

१० चैत,वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् ।

सेवाग्राहीबाट घुस लिइरहेको भिडिओ प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो । हिरासतमा रहेको अभियुक्तका सरोकारवाला मानिससँग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अन्जना कायस्थले जानकारी दिनुभयो ।

सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानबिन तथा जाँचबुझ कार्यमा झुटा सबूत–प्रमाण संकलन गर्न सक्ने वा आफूविरूद्धका सबूत–प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साहविरूद्ध अवैध रूपमा वन पैदावार ओसारपसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । गत चैत ६ गने अभियुक्त साह पक्राउ परे । ’जयनारायणले आफ्नो ट्र्याक्टर अरूलाई भाडामा दिएका थिए ।

भाडामा लिने व्यक्तिले उनको गाडीबाट काठ ओसारपसार गरिरहेका थिए। त्यसै क्रममा सवारीधनी पक्राउ परेछन्। उनीसँग मुद्दा मिलाइदिने, पैसा नदिए जेल पठाइदिने भनेर धाकधम्की दिँदै अधिकृत यादवले झन्डै ४ लाख रूपैयाँ लिइसकेको विभिन्न अडिओ प्रमाण फेला परेको मन्त्रालयका एक अधिकारीले बताए ।

प्रतिवादीले पैसा दिँदादिँदा वाक्क भएपछि ४० हजार रूपैयाँ घुस दिएको भिडिओ नै बनाएर उपलब्ध गराएको थियो । ती अधिकारीका अनुसार प्रमाण फेला परेपछि राज्यमन्त्री रहबर अन्सारीको निर्देशनमा यादवलाई कारबाही प्रक्रिया अघि बढाइएको हो ।

राज्यमन्त्री अन्सारीले विगतमा मधेसमा देखिएका आर्थिक अनियमितता, भ्रष्टाचार र अनुशासनहीनता जस्ता विकृति र विसंगतिका अवशेषहरूलाई पूर्ण रूपमा निरूपण गर्दै नयाँ पद्धति बसाल्ने आफूहरूको प्राथमिकता रहेको बताउनुभयो ।


सम्बन्धित समाचार