१५ चैत,वीरगञ्ज । जनमत पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा शिवचन्द्र प्रसाद कुशवाहालाई उम्मेदवार बनाउने भएको छ । गत निर्वाचनमा एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवसँग मात्र ३ सय ५४ मतले पराजित भएका कुशवाहा यसपटक जनमत पार्टीबाट उम्मेदवार भन्ने भएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कुशवाहालाई जनमत पार्टीमा प्रवेश गराएका हुन् । बारा २ का जनता बहरिया नेताहरुबाट पीडित रहेकोले जनताको माग अनुसार स्थानीय उम्मेदवार जनमत पार्टीले दिएको नेता साहले बताए ।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा दोबरभन्दा बढी मतले पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट उपचुनाव लड्न रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर क्षेत्र खाली गराएका हुन् ।
सुनसरी, मोरङ, सप्तरीबाट क्षेत्र परिवर्तन गर्दै आएका जसपा अध्यक्ष उपेन्द्र यादव बैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ बाट उठ्ने तयारी गरेका छन् । पूर्वसांसद समेत रहेका कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याउँदा रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ ल्याएर विजयी भएका थिए । यसपटकको उपनिर्वाचनमा जनमत पार्टीका उम्मेदवार कुशवाहा र जसपा अध्यक्ष यादवबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ ।