Logo

१९ चैत, वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) मा २ हजार भन्दा बढि गाडी अलपत्र परेका छन् । नेपालमा नयाँ गाडी किन्ने मानिसको सङख्या ह्वात्तै घटेपछि आयातकर्ताले एलसी खोलेर ल्याएका गाडी भन्सार पास नगराउँदा २ हजार ३ सय ८० थान आइसिपीमै अलपत्र परेका हुन् ।

भन्सार विभागले देखाएको तथ्यांकअनुसार देशभरि ४ हजार सवारीसाधन विभिन्न भन्सार कार्यालयमा रोकिएका छन् । जसमध्ये वीरगञ्जस्थित आइसिपीमा मात्रै सबैभन्दा बढि गाडी थन्किएका हुन् । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार आइसिपीमा गत १४ चैत सम्म ८ सय ७८ वटा नयाँ ट्रकको चेसिस, ५ सय ६३ वटा नयाँ कार र ७५ वटा जिप थपिएको छ ।

त्यस्तै ५७ वटा नयाँ बस, ५ वटा ४० फिट माथिका ट्रकका चेसिस, ३ सय ९० वटा ४० फिट तलका ट्रकका चेसिस आइसिपीमै अड्किएका छन् । हाल आइसिपीमा कुल नयाँ गाडी, ट्रक तथा चेसिसको संख्या १ हजार ८ सय ६८ वटा पुगेको छ भने लोड भएर थन्किएको ट्रकको संख्या ४ सय १२ वटा छ ।

देशमा आर्थिक मन्दि छाएसँगै विभिन्न भन्सार नाकामा गाडीहरु थुप्रिदै गएका छन् । व्यवसायीले भारतबाट एलसी खोलेर गाडी मगाए पनि नेपालमा सवारीसाधन किन्ने ग्राहक नहुदाँ नाकामा गाडी थन्किएका हुन् । आर्थिक मन्दीकै कारण भन्सार तिरेर सवारीसाधन भित्र्याउने क्षमता व्यवसायीसँग नभएको नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताउनुभयो ।

आयातकर्ताले गाडी समयमै भन्सार पास नगराउँदा एकातिर राज्यले प्राप्त गर्ने राजस्व उठेको छैन भने अर्कातिर आइसिपीमा समेत गाडीहरु थुप्रिएर भरिभराउ भएको छ । पुराना गाडी बाहिरिएर नयाँ गाडी भित्रिने चक्रमै समस्सया भएको अध्यक्ष थापाले बताउनुभयो ।

एसोसिएसनका उपाध्यक्ष निराकार श्रेष्ठले गाडी बिक्री हुन २५ प्रतिशतसम्म तल झरेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्ष ९ महिना सकिन लाग्दा समेत पुजीँगत खर्च २४ प्रतिशतमात्र भएको बताउनुभयो ।

 


सम्बन्धित समाचार