२१ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले आफूले भनेको नमानेमा नेपाल टेलिकमको क्षेत्रिय कार्यालय वीरगञ्जलाई डम्पीङ साइड बनाईदिने धम्की दिएका छन ।
उनले वीरगञ्ज महानगरपालिकाको संरचना भत्काउने र विगार्ने उपर यस्तै खालको कार्वाही गर्ने मयेर सिंहले बताए । स्थानीय प्रहरी प्रशासनको रोहवरमा भएको सहमती टेलिकमले पालना नगरेको भन्दै मेयर सिंहले वीरगञ्जबाट उठने फोहोर हरेक दिन टेलिकमको कार्यालय परिसरमा थुपार्ने बताए ।
वीरगञ्जका मेयरले गुण्डागर्दी शैलीमा सरकारको एउटा कार्यालयमा जर्वजस्ती प्रवेश गरेर फोहोर फ्याक्ने काम गरेको टेलिकमका कर्मचारीले आरोप लगाएका छन् । नेपाल टेलिकम क्षेत्रिय कार्यालय वीरगञ्जका प्रमुख अनन्त मल्लिकले मेयर जस्तो पदमा बसेको व्यक्तिले अराजक कार्य गर्नु निन्दनीय रहेको बताए ।
वीरगञ्ज महानगरपालिका र टेलिकम विच भएको सहमती अनुसार झण्डै ८ सय मिटर काम सम्पन्न भएको र करिव २ सय मिटर काम भइरहेको अवस्थामा कसैलाई जानकारी नदिई कार्यालय परिसरमा फोहोर फ्याँक्नु मेयरको नालायकी पन भएको टेलिकमका कार्मचारीको भनाई छ ।
सडक मर्मतको काम फागुन मसान्त सम्म सम्पन्न गर्ने महानगर र टेलिकम विच सहमती भएको थियो तर ठेकदारले समयमा काम सम्पन्न गर्न नसक्दा केही काममा ढिलाई भएको कुरा मेयरलाई समेत जानकारी दिएको टेलिकमका क्षेत्रिय प्रमुख अनन्त मल्लिकले बताए । स्थानीय सरकार प्रमुखबाट जुन हर्कत भयो त्यसले मेयरको असली नियत बाहिरिएको टेलिकमका कर्मचारीको भनाई छ ।
मल्लिकले टेलिकमलाई जानकारी नदिई बजारको दुर्गन्ध कार्यालय परिसरमा थुपार्ने काम अराजकताको पराकाष्ठ भएको बताए । मौसम परिवर्तनको कारण बजारमा विभिन्न रोगहरुको संक्रमण फैलिएको समयमा कार्यालयमा कार्यरत कर्मचारीको स्वास्थ्यमा असर पार्नेगरी टेलिकमलाई नै डम्पीङ साइड बनाउछु भन्ने मेयर राजेशमानको भनाई आपत्तिजनक रहेको उनको भनाई छ ।
मेयरको निर्देशनमा टेलिकमको सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर जर्वजस्ती गेट खोलेर बजारबाट उठाइएको दुर्गन्धित फोहोर कार्यालय परिसरमा थुपार्ने काम भएको क्षेत्रिय प्रमुख मल्लिकको भनाई छ ।
यस्ता अराजक व्यक्तिले आफूले भनेको नमानेको भन्ने आरोपमा कुनै व्यक्ति वा सरकारी कार्यालयमा आगो समेत लगाउन सक्ने स्थिती नआउला भन्न नसकिने मल्लिकको भनाई छ । वीरगञ्जका मेयरले गरेको हर्कतलाई सरकारले कार्वाही गर्नुपर्ने उनको भनाई छ । स्थानीयवासीले समेत मेयर राजेशमान सिंहले गुण्डागर्दी शैलीमा काम गरेको बताएका छन ।

















