Logo

फाइल तस्बिर

२८ चैत,वीरगञ्ज । मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले समाजमा विज्ञापनले झन्डु बामको काम गर्ने हुँदा यसलाई हाबी हुन नदिन नियमन गरेर लैजानु पर्ने बताउनुभएको छ ।

आज जनकपुरधाममा विज्ञापन बोर्डद्वारा आयोजित विज्ञापन नियमन सम्बन्धमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अन्सारीले यस्तो बताउनुभएको हो । उहाँले मानव जीवनमा विज्ञापन निकै प्रभावकारी विषय रहेको बताउनुहुँदै यसलाई गम्भीर रूपमा दिन आग्रह गर्नुभएको छ ।

सम्पूर्ण समस्यामा औषधिको रूपमा काम गर्ने विज्ञापनलाई नियमन गरेर लैजान विज्ञापन बोर्डलाई उहाँको आग्रह छ । उहाँले आगामी दिनमा विज्ञापनलाई नियमन गर्न नसके यसले छाडा रूप लिने अवस्था सिर्जना हुने अवगत गराउनुहुँदै विज्ञापन एजेन्सी, सञ्चार माध्यम तथा सञ्चारकर्मीलगायत राष्ट्रको सामाजिक संरचनालाई बिग्रिन नदिन विज्ञापनलाई नियमन गरी विज्ञापन क्षेत्रलाई थप मजबुत बनाउन अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको युगमा विज्ञापन हाम्रो जीवनको महत्त्वपूर्ण पाटोको रूपमा रहेको हुँदा यसलाई जीवनमा हाबी हुन नदिन पनि नियमन गर्न अत्यन्तै जरुरी रहेको बताउनुभयो । कुनै पनि प्रविधिलाई मानव जीवनमा हाबी हुन पहिले नियमन गर्नु सुझाव समेत दिनुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले प्रदेश र सङ्घको विज्ञापन फरक हुनुपर्ने बताउनुहुँदै जुम्ला र जनकपुरधामको समस्यामा भिन्नता रहेको हुँदा विज्ञापनमा पनि फरक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार