Logo

८ वैशाख,वीरगञ्ज । वीरगञ्जमा रहेको गौतम माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८० देखि तमसुक कागज गराई विद्यार्थी भर्ना गरिरहेको छ । सो विद्यालयमा विद्यार्थी भर्ना गर्दा १० बुंदे मन्जुरीनामा पत्रमा आमा बुवा दुवैको हस्ताक्षर अनिवार्य गरेको छ । विभिन्न १० बुंदे शर्त राखेर विद्यालय प्रशासनले तयार पारेको मञ्जुरीनामा पत्रमा आमाबुवाको हस्ताक्षर भए मात्र विद्यार्थीको भर्ना लिने गरिएको अभिभावक हरिन्द्र यादवले बताउनुभयो ।

विद्यालयको नियमानुसार वार्षिक शुल्क, शिक्षण, कम्प्युटर, यातायात लगायतका शुल्क हरेक महिनाको १५ गते भित्र बुझाई सक्नुपर्ने, परिक्षा शुल्क, अतिरिक्त क्रियाकलाप दस्तुर लगायतका शुल्क अनिवार्यरुपमा तिर्नुपर्ने लगयातका शर्त विद्यालयले राखेको छ । समाजिक सञ्जाल वा अन्य कुनै प्रकारको विद्यालयको बारेमा अवाज उठाइयो भने विद्यालयले जुनसुकै कारावाही समेत गर्न सक्ने शर्त १० बुंदे मञ्जुरीनामा पत्रमा उल्लेख गरिएको छ ।

आवश्यकता अनुसार विद्यालयबाट परिमार्जित गरिएको शुल्क वृद्धि वा अन्य कृयाकलापका शुल्क बुझाउन आफु मञ्जुर छु भनि उल्लेखित मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरे मात्र विद्यार्थी भर्ना गर्ने गरिएको अभिभावक संघ पर्साका अध्यक्ष संदिप साहले बताउनुभयो । सो कार्य शिक्षा ऐन र उपभोक्ता ऐन विपरित रहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च र अभिभावक संघ पर्साले यो कार्य तत्काल रोक्नु पर्ने र विद्यालय प्रशासनलाई कारावाहीको माग सहित संयुतरुपमा जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिकामा ज्ञापनपत्र बुझाएकाछन् ।

नेपालको शिक्षा ऐन र उपभोक्ता ऐन २०७५ विपरित कार्य विद्यालयले गरेको उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगर कमिटीका अध्यक्ष अजित भुजेलले बताउनुभयो । विद्यार्थीहरुको पढन पाउने र अभिभावकले आफ्ना बालबच्चालाई पढाउन पाउने अधिकार र स्वतन्त्रतालाई कसैले पनि हरण गर्न नपाउने कानुनी प्रावधान रहेपनि शिक्षा जस्तो क्षेत्रमा पनि यसरी तमसुक कागज गराई विद्यार्थी भर्ना लिनु गलत भएको उहाँले बताउनुभयो । यता विद्यालय पक्षले पछिल्लो पटक अभिभावकहरु विभिन्न बहानामा मासिक शुल्क नबुझाई लान्छाना लगाएर विद्यालयलाई बदनाम गर्न खोजिएको भन्दै यस्तो कदम चाल्नु परेको बताएको छ ।


सम्बन्धित समाचार