Logo

८ वैशाख,वीरगञ्ज । गर्मीको मौसम सुरु भएसँगै पर्सामा रहेको सामुदायिक वन तथा निकुञ्जमा डढेलो लाग्ने क्रम बढेको छ । अहिले पर्सामा रहेका विभिन्न सामुदायिक वनमा डढेलो लागिरहेको छ । ढडेलोका कारण स–साना बोट बिरुवाहरू समेत जलेर नष्ट भएका छन् ।

त्यस्तै, डढेलोले गर्दा वातावरण प्रदूषण बढेको छ । जिल्लाका पटेर्वासुगौली गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका लगायतका स्थानहरूमा डढेलोका कारण वायु प्रदुषित हुनुका साथै आँखासम्बन्धी रोगहरू समेत देखा परेको सखुवाप्रसौनी गाउँपालिका १ का वडाध्यक्ष बासदेव महतो थारुले बताउनुभयो ।

उहाँले डढेलोकै कारणले जंगलमा रहेका बाघ, घोडा गदहा जस्ता जंगली जनावरहरू बस्तीमा प्रवेश गर्न थालेको जानकारी दिनुभयो । डिभिजन वन र निकुञ्जमा यसबारे खबर गर्दा हालसम्म कुनै पहल नभएको उहाँको भनाइ छ । गर्मी मौसम भएसँगै पर्सा राष्ट्रिय निकुञ्जमा समेत आगो लागेको थियो । जसले गर्दा निकुञ्जभित्र रहेको सेनाको खानेपानीको पाइपमा नै क्षति पुगेको थियो ।

गर्मी मौसममा आफै डढेलो लाग्ने गरेको भए पनि मानिसहरूले नयाँ पालुवा पलाओस् र गाईवस्तुको चरनको लागि घाँस उम्रियोस् भन्ने विश्वासले गर्दा पनि स्थानीयवासीले नै आगो लगाइदिने गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिनुभयो ।

उहाँले यस्ता डढेलो रोक्नको लागि जनचेतना फैलाउनुपर्नेमा जोड दिए । जंगलमा लागेको डढेलोलाई नियन्त्रण गर्नको लागि डिभिजन वन कार्यालय पर्सा लागि परेको तथा केही स्थानहरूमा डढेलोलाई नियन्त्रणमा समेत लिईएको डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फरमान मियाँले बताउनुभयो । उहाँले मानिसहरुले नै जानाजान नयाँ घाँस उत्पादन हुने भनेर जंगलमा प्रायः डढेलो लगाईदिने गरेकाले वन कार्यालय मात्रै नभई स्थानीयवासीको डढेलो नियन्त्रणका लागि सहयोग चाहिने बताउनुभयो ।

 


सम्बन्धित समाचार