Logo

११ वैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन्। सोमबार राप्ती उपत्यकास्थित प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन्।

विश्वासको मतका लागि भएको मतदानमा सहभागी सदस्यमध्ये ३३ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए।
५३ जनाले विश्वासको विपक्षमा मत दिएपछि मुख्यमन्त्री गिरी नेतृत्वको सरकार ढलेको हो।
गिरीलाई नेकपा एमालेका २९ र राप्रपाका ४ गरी ३३ सांसदले विश्वासको मत दिए।

माओवादी केन्द्र, नेपाली कांग्रेस नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज समेत रहेका गिरी गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र गरि ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

तर, राष्ट्रिय राजनीतिमा फेरिएको सत्ता समिकरणपछि राप्रपा बाहेकका दलहरूले गत चैत्र १२ गते नेकपा माओवादी केन्द्र लगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकारमा सहभागि दलहरूले समर्थन फिर्ता लिएको एकमहिना बिताएर गिरीले विश्वासको मत लिएका हुन्।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४(४, जसपा, जनमत र लोसपाका ३(३ सदस्य छन्।

त्यस्तै स्वतन्त्रबाट निर्वाचन जितेका २ जनाले माओवादी केन्द्र रोजेपनि एकजनाले कुनैपनि दल रोजेका छैनन् भने नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १(१ सदस्य छन्।

यसअघि मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिँदै गत चैत १२ गते नै नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्।एमालेले भने विश्वासको मत नपाएपनि ठूलो दलका हैसियतले सरकारको नेतृत्व दावी गरेको छ।


सम्बन्धित समाचार